बर्सेनि बढ्दै जुनोटिक रोगको जोखिम, सावधानी नअपनाउँदा लिन सक्छ ज्यान

केही वर्षयता नेपालमा जुनोटिक रोगको जोखिम बढ्दै गएको छ । जुनोटिक रोग जनावरले टोकेर मानिसमा देखिने स्वास्थ्य समस्या हो । यो रोग पशुपंक्षीबाट मानिसमा र मानिसबाट पशुमा सजिलैसँग सर्छ ।

पशुपंक्षीसँगको लसपस, काँचो दूध, दही, मासु, काँचो तरकारी र हावाको माध्यमबाट जुनोटिक रोग सर्दछ । यसका साथै खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक रोग देखा पर्न थालेको स्वास्थ्यकर्मी बताउँछन् ।

सरकारले हालसम्म एन्थ्रेक्स, क्राइमियन कंगो हेमोरेजिक फिभर (सीसीएचएफ), इबोला भाइरस, फासियोलियासिस, लेप्टोस्पाइरोसिस, निपा भाइरस, रेबिज, रिफ्ट भ्याली फिभर, वेष्ट नील फिभर, चिकनगुनीया, डेंगु, हन्टा भाइस, हेपाटाइटिस ई, जापानिज इन्सेफ्लाइटिस, कायासुनार फरेस्ट डिजिज, लस्सा फिभर, लेस्मिनियासिस, स्क्रबटाइफस, सर्पदंश, जिका भाइरस, एभियन इन्फ्लुएन्जा, कोरोना भाइरस (सार्स, मर्स, सार्स कोभ २), इचिनोकोकोसिस/हाईडाटिडोसिस, हेन्ड्रा भाइरस, लाइम डिजिज, मारबर्ग भाइरस डिजिज, टेन्टिसिस/सिस्टिसर्कोसिस, टोक्जोप्लास्मोसिस, जुनोटिक क्षयरोगलगायत ४२ वटामध्ये १० वटा जुनोटिक रोगलाई मात्र प्राथमिकिकरण गरेको छ ।

प्राथमिकिकरण गरिएका १० वटा जुनोटिक रोग ईन्फ्लुएन्जा (जुनोटिक इन्फ्लुएन्जा, सिजनल ईन्फ्लुएन्जा,  रेबिज, कोरोना भाइरस (सार्स, मर्स, सार्स कोभ २), लेप्टोस्पाइरोसिस, ब्रससेलोसिसस, सालमोनेलोसिस ,लेस्मिनियासिस, जुनोटिक क्षयरोग, सिस्टिसर्कोसिस/हाईडाटिडोसिस, टोक्जोप्लास्मोसिस रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्रै देशभर १ लाख २८ हजार ५१२ जनालाई कुकुर, स्याल लगायतका जनावरले टोकेर बिरामी भएको पाइएको छ । जसमध्ये सुदूरपश्चिम प्रदेशमा १३ हजार ६२८, कर्णाली प्रदेशमा ६ हजार १०, लुम्बिनी प्रदेशमा ३७ हजार ८६१, मदेश प्रदेशमा २१ हजार ९८२, गण्डकी प्रदेशमा १ एकहजार १९४, बागमती प्रदेशमा १९ हजार १९२ जना र कोशी प्रदेशमा १८ हजार ७४५ जना जनावरको टोकाइबाट पीडित भएका थिए ।

मन्त्रालयले उपलब्ध गराएको गत दुई वर्षयताको तथ्यांक हेर्ने हो भने जनावरको टोकाइबाट पीडित हुने बिरामीको संख्या बर्सेनि बढ्दै गइरहेको छ । आव ०७८/७९ मा ९४ हजार ८२९ जनामा जनावरले टोकेर जुनोटिक समस्या देखिएको थियो भने आव ०७७/७८ मा ६७ हजार ३१६ जनामा यो समस्या देखिएको थियो । 



सामान्य सावधानी अपनाएर जनावर तथा सर्पको टोकाइबाट हुने जटिलताबाट बच्न सकिने भएपनि मानिसको हेलचेक्रयाइँ गर्दा जुनोटिक समस्या जनस्वास्थ्यको चुनौतीको रूपमा देखा परिरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । 

उनका अनुसार ग्रामीण क्षेत्रको तुलनामा सहरमा जनघनत्व बढ्दै गइरहेको छ । जनघनत्व बढेसँगै छाडा कुकुर तथा अन्य जनावरको संख्या पनि बढ्दै गएको छ । जसले गर्दा जुनोटिक रोगको समस्या ठूलो चुनौतीको रूपमा बढ्दै गइरहेको छ । ‘जनावरहरूको संक्रामक रोगको रोकथाम धेरै महत्वपूर्ण छ । किनभने संक्रमणबाट लाग्ने रोग कहिलेकाहीँ घातक हुन्छन् । जसले ठूलो आर्थिक प्रभाव पार्छ । त्यसैले सही समयमा खोप लगाउनु नै एक मात्र समाधान हो,’ डा. पुनले भने ।



पछिल्लो समय शुक्रराज ट्रपिकल अस्पतालमा रेबिजविरुद्धको खोप लगाउनेको भीड बढेको छ । अस्पतालमा कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउन आउनेको बाक्लै भीड हुन्छ । कुकुरले टोकेपछि रेबिजविरुद्ध खोप लगाउन आउनेको संख्यामा वृद्धि भएको अस्पतालले समेत जनाएको छ । अस्पतालका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब १ सयजनाको हाराहारीमा कुकुरले टोकेर टेकु अस्पतालमा खोप लगाउन पुग्छन् । 

‘पहिले–पहिले खोप थिएन र रेबिज लागेका धेरैजसोको मृत्यु हुन्थ्यो, तर अहिले खोप छ । कुनबेला लगाउने भन्नेबारे चेतना छैन,’ पुनले भने, ‘जान्ने/बुझ्नेहरूले नै यसमा हेलचेक्र्याइँ गरेका छन् ।’ यदि कुकुर तथा घरपालुवा जनावरले टोकेर सामान्य घाउ बनाए पनि समयमै रेबिजविरुद्धको खोप लगाउन सके जुनोटिक रोगको जोखिम नहुने डा. पुनले जानकारी दिए ।

यसरी कुकुरलगायतका जनावरले टोकेमा समयमा नै रेबिजविरुद्धको खोप नलाइए मानिसको मृत्युसमेत हुने गरेको छ । मन्त्रालयअन्तर्गतकै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक १ सय जनाको रेबिजको कारण मृत्यु हुने गरेको छ । 

विश्वमा हालसम्म ७० प्रतिशत रोग जनावरबाट मानिसमा सरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बर्सेनि १ करोड मानिस जुनोटिक रोगका कारण बिरामी पर्छन् भने १० लाख मानिसको मृत्यु यही रोगका कारण भइरहेको छ । पछिल्लो दुई दशकमा मानिसमा नयाँ–नयाँ रोगको संक्रमण देखिएको छ, जसमध्ये ७५ प्रतिशतभन्दा बढी संक्रमण जनावरबाट भएको संगठनले जनाएको छ ।  

  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार २१:३०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया