राप्रपाको कार्यदिशा स्पष्ट हुनुपर्छ : प्रकाशचन्द्र लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष तथा नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलन परिचालन समितिले गरेको वृहत् आन्दोलन पूर्वतयारी छलफलमा लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका हुन् । 

उनले आन्दोलनमा जाने भए आन्दोलनमा जानुपर्ने र आन्दोलन नगर्ने भए नगरी बस्नुपर्ने बताए । लोहनीले पार्टीको कार्यदिशाको सम्बन्धमा बैठकमा छलफल हुनुपर्ने र बहुमतले पारित गरेको निर्णय लागू हुनुपर्ने बताए । लोहनीले राप्रपामा आन्दोलनमा जानुपर्ने मत बलियो भएको भन्दै आन्दोलन गर्नुपर्नेमा जोड दिए ।  

‘अहिलेको अवस्थामा हाम्रो पार्टीले जे गर्ने हो त्यो बडो स्पष्ट हुनुपर्छ । म एकैताली उठ्छु पनि बस्छु पनि भन्न चाहिँ मिल्दैन । उठ्ने भए उठ्नुप¥यो । बस्ने भए बस्नुप¥यो । उठ्छु पनि, बस्छु पनि भन्न चाहिँ मिल्दैन । म त्यसमा क्लियर छु । ठीक छ बस्ने भए बसौँ । हाम्रो पार्टीको निर्णय गर्ने इकाइहरू छन् । केन्द्रीय कार्य सम्पादन समिति छ । केन्द्रीय कार्यसमिति नै छ,’ लोहनीले भने, ‘ल पार्टी बस्ने भयो भनौँ बस्नु कसरी बस्ने हो । पार्टीले गरेको निर्णयलाई सबैले मान्नुपर्छ । बहुमतको निर्णयलाई । उठ्ने हो भने उठौँ । कुरा उठ्ने गर्ने । मौका प¥यो भने बसि पनि हाल्ने काम चाहिँ नगरौँ । अहिले धेरै साथीहरूको नेपाली समाज र यो देशलाई रूपान्तरित गर्ने शक्तिको रुपमा यसलाई खडा गर्ने हो भने हामीले आफ्ना एजेण्डाहरू लिएर जानुपर्छ उठ्नुपर्छ र आन्दोलनमा जानुपर्छ भन्ने सबै साथीहरूको विचार बुझेको छु र देशले खोजेको पनि अहिले त्यही हो ।’  

उनले राप्रपा पनि एमाले, कांग्रेस र माओवादीभन्दा फरक रहेनछ भन्ने स्थितिमा पुर्याउनु नहुनेमा सतर्क रहनुपर्ने बताए । लोहनीले राप्रपाले वैचारिक शक्ति र संगठन निर्माणलाई साथसाथै अगाडि बढाउनुपर्ने बताए ।   

‘देशले पनि राप्रपा पार्टी हेरिरहेको छ । यस्तो स्थिति नआओस् राप्रपा पनि एमाले, कांग्रेस र माओवादी भन्दा केही फरक रहेनछ भन्ने स्थितिमा हामी नपुगौँ । यसप्रति शतर्क हौँ । त्यो स्थितिमा पुग्यौँ भने हामी गयौँ । किनभने सांगठनिक रुपमा उनीहरू बलियो छन् । उनीहरू छन् गाउँमा । हामी शक्तिको रूपमा आउने हो भने हामीले विचार, दृष्टिकोण र आन्दोलनको माध्यमबाट मात्र सक्छौँ । वैचारिक शक्ति र संगठनलाई सँगै लिएर जानुपर्छ । विधानमा सन्तुलन र नियन्त्रण छ,’ लोहनीले भने, ‘हाम्रो पार्टीभित्र केन्द्रीय कार्य सम्पादन समिति भनेको सन्तुलन र नियन्त्रण गर्ने संस्था हो । वादविवाद भयो भने मिलाउने संस्था हो । यसमा एकले अर्काको नियतमा शंका गर्नु हुँदैन । विधानले राखेको फोरमहरुको बैठक बोलाएर छलफल गर्ने हो । एकले अर्कोलाई शंका नगरौँ ।’ 



छलफलमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजा र हिन्दुराष्ट्रको एजेन्डा लिएर जाँदा देशमा न्यूनतम् ३० प्रतिशतदेखि अधिकतम ५० प्रतिशत जनमत आउने दाबी गरे । उनले नेताहरूको अवसरवादी चरित्र र खराबीको कारण ५० प्रतिशत जनमत भएको ठाउँमा ५ प्रतिशत मात्रै मत आएको बताए ।  



‘अहिले राजा, हिन्दु राष्ट्रको एजेन्डामा जाने हो भने न्यूनतम् ३० देखि अधिकतम ४५ देखि ५० प्रतिशत जनमत हाम्रो पक्षमा छ । तर, भोट हाम्रो ५ प्रतिशत किन आउँछ ? किनभने पार्टीभित्रका हामी नेताहरूले कहीँ न कहीँ खराबी गरेका छौँ,’ शाहीले भने, ‘कहीँ न कहीँ अवसरवादी चरित्र देखाएका छौँ । त्यो भएर हामीले सोचे बराबर भोट ल्याउन सकेका छैनौँ भन्ने कुरा नेताले, कार्यकर्ता र स्थानीय तहको नेतृत्वले बुझ्नुप¥यो ।’ 

उनले पार्टीले सबै नेता, कार्यकर्ताहरूको कुरा सुन्नुपर्ने बताए । शाहीले आम निर्वाचनमा उम्मेदवार भएका सबै नेता, कार्यकर्तालाई संगठित र एकीकृत गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । 

  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार २०:१५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया