मेरो पालामा अमेरिकाको सीमा इतिहासमै बलियो थियो, आज विपत्ति पर्खिरहेको छ : ट्रम्प

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीमा सीमा नजिकै ठूलो आतंकवादी हमला हुन सक्ने आशंका व्यक्त गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै अमेरिका–मेक्सिको सीमानामा भइरहेको सम्झौताले विपत्ति ल्याउन सक्ने लेखेका छन् । 

उनले अमेरिकाको दक्षिणी सीमालाई विश्वको इतिहासमा सबैभन्दा खराब भएको भन्दै अमेरिकामा ठूलो आतंकवादी हमला हुन सक्ने आशंका व्यक्त गरेका हुन् । 

उनले लेखेका छन्, ‘तीन वर्षअघिसम्म हाम्रो सिमाना अमेरिकाको इतिहासमा सबैभन्दा बलियो र सुरक्षित थियो । आज विपत्ति पर्खिरहेको छ । यी विश्वको इतिहासमा सबैभन्दा खराब सिमाना हुन् र हाम्रो देशका लागि खुला घाउ जस्तै छन्,’ ट्रम्पले लेखेका छन्, ‘विश्वभरका आतंककारीहरू बिना छानबिन हाम्रो देशमा प्रवेश गरिरहेका छन् । अमेरिकामा सीमा नजिकै ठूलो आतंकवादी हमला हुन सक्ने शतप्रतिशत सम्भावना छ ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदमा अमेरिका–मेक्सिको सीमामा भएको सम्झौताको बारेमा कुरा गरिरहेका छन् । योसँगै ट्रम्पले रिपब्लिकन पार्टीका सांसदहरूलाई कुनै पनि सम्झौतामा सहभागी नहुन अपिल गरिरहेका छन् । 

ट्रम्पले नराम्रो सम्झौताभन्दा कुनै सम्झौता नहुनु राम्रो भएको बताए । डोनाल्ड ट्रम्पले गैर कानुनी रुपमा अमेरिका आउने शरणार्थीलाई लिएर जो बाइडेनलाई घेरा हालेका छन् । यो वर्ष नोभेम्बरमा हुन लागेको राष्ट्रपति चुनावमा अवैध शरणार्थीको मुद्दा सबैभन्दा महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । यही कारणले गर्दा ट्रम्पले यस विषयमा जो बाइडेनको सरकारविरुद्ध जेहाद छेड्न कुनै मौका छोड्न चाहँदैनन् ।

बाइडेनलाई पनि यो थाहा छ, त्यसैले उनले आफ्नो एउटा वक्तव्यमा कंग्रेसले सहमति गरेमा अमेरिका–मेक्सिको सीमा पूर्ण रूपमा बन्द गर्न तयार रहेको घोषणा गरेका छन् । 





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १५:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया