सूर्यले सन्दीपको स्थानमा मौका पाउन सक्ने, ९ खेलमै लिए ३० विकेट [भिडियोसहित]

नेपाली युवा स्पिनर सूर्य तामाङले जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेका छन् । बागमती प्रदेशबाट प्रतियोगिता खेलिरहेका उनले ९ म्याचमा सर्वाधिक ३० विकेट लिएका छन् । योसँगै सूर्यले प्रधानमन्त्री कपको एक संस्करणमा सर्वाधिक विकेट लिने बलरको रेकर्ड बनाएका छन् ।

उनले तेस्रो खेलमा मधेश प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिँदै समर्थकको मन जितेका थिए । त्यसपछि सूर्यले शनिबार लुम्बिनी प्रदेशविरुद्ध पनि ६ विकेट लिएर सनसनी मचाए । उनले यस प्रधानमन्त्री कपमा तीनपटक पाँचभन्दा बढी विकेट लिएका छन् ।

यस प्रतियोगितामा उनले पहिलो र दोस्रो खेलमा नेपाल पुलिस र एपिएफ क्लबविरुद्ध तीन/तीन, तेस्रोमा मधेशविरुद्ध ६, चौथोमा आर्मी क्लबविरुद्ध ५ तथा पाँचौं खेलमा कोशी प्रदेशविरुद्ध दुई विकेट लिए ।

सूर्यले छैटौँ र सातौं खेलमा भने एक/एक विकेट मात्र लिन सके । तर, आठौँ खेलमा उनले सुदूरपश्चिम प्रदेशविरुद्ध उत्कृष्ट पुनरागमन गरे । सो खेल सूर्यले १७ रन मात्र दिएर तीन विकेट लिए । त्यसपछि उनले नवौँ खेलमा घातक बलिङ गरे । लुम्बिनी प्रदेशविरुद्ध खेलिएको उक्त म्याचमा सूर्यले २६ रन मात्र दिएर ६ विकेट हात पारे ।

उनकै चामत्कारिक बलमा बागमती अहिले अंक तालिकाको तेस्रो स्थानमा छ । उसको फाइनल पुग्ने सम्भावना जीवितै छ । प्रधानमन्त्री कपमा उच्च लयमा रहेका सूर्यले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने सम्भावना पनि बढेको छ । हाल टिममा प्रमुख स्पिनर सन्दीप लामिछाने नभएकाले पनि उनले राष्ट्रिय टोलीबाट डेब्यू गर्ने सम्भावना बढेको हो । 



विगतमा टिममा मौका पाए पनि सूर्यले प्लेइङ–११ मा भने स्थान बनाउन सकेका थिएनन् । तर, आसन्न प्रतियोगिताका लागि भने उनले प्लेइङ–११ मा अवसर पाउने सम्भावना उच्च छ ।



नेपालले सन् २०२४ को पहिलो सिरिज १० फेब्रुअरीदेखि क्यानडाविरुद्ध खेल्ने तालिका छ । घरेलु मैदानमा हुन लागेको उक्त तीन खेलको सिरिजमा नै सूर्यले नै डेब्यू गर्ने सम्भावना छ ।     

  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार १२:२०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया