विमानस्थल सुरक्षामा सशस्त्र प्रहरी : शैली फेरिएला कि साँच्चै रोकिएला तस्करी ?

मुलुककै पुरानो अन्तर्राष्ट्रिय विमानस्थल विभिन्न कारणले पटक–पटक बदनाम हुँदै आएको छ । पछिल्लो समय भने अन्तर्राष्ट्रिय विमानस्थललाई गिजोलेको छ, पटक–पटकको सुन तस्करीको घटनाले । सुन तस्करीको अखडा बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बदनाम हुँदै आएको छ । सुन तस्करीका एकपछि अर्को ठूलो काण्ड सतहमा आएसँगै विमानस्थलको सुरक्षा जाँचको विषयलाई लिएर चौतर्फी आलोचना भयो ।   

अरू मुलुकमा कुनै अपराधमा संलग्न व्यक्तिले हुलिया परिवर्तन गरेर आए पनि सिसिटिभी फुटेजको विश्लेषण गरेर पत्ता लगाउने प्रविधि छ । तर, नेपालमा सुरक्षाका लागि कुनै प्रावधान छैन । अन्तर्राष्ट्रिय विमानस्थलमा कतिपय सिसिटिभी भए पनि काम नगर्ने तथा फुटेजै नपाइने, विमानस्थलमा प्रयोग भएका मेटल डिटेक्टरले समेत काम नगर्ने अवस्था थियो । अहिलेसम्म विमानस्थलबाट बरामद गरिएको सुन भन्सार र अध्यागमनको जाँच सहजै पार गरेको सिआइबीको अध्ययनबाट खुल्न आएको छ । यतिसम्म कि ज्याकेटभित्र साढे ६ किलो सुनको बिस्कुट आकारको प्याकेट बोकेर विमानस्थलको ‘वाक थ्रु’ छिर्दा पनि त्यसले कुनै संकेत दिएको थिएन । 

पटक–पटक ठूला परिमाणमा सुन भित्रिनुको कारण खोज्न विभिन्न चरणमा अध्ययन अनुसन्धान भएका छन् । अध्ययनले पनि ‘विमानस्थलको सुरक्षा जाँच’मा सुरक्षा निकायलाई आबद्ध गराउन सुझाब दिँदै आएको थियो । पछिल्लोपटक १४ किलो सुनसहित चन्द्र घले पक्राउ परेपछि भन्सार कार्यालयले बनाएको छानबिन समितिले पनि भन्सार कार्यालयमा जाँचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई आबद्ध गराउन सुझाब दिएको थियो । 

‘अन्तर्राष्ट्रिय आगमनको भिआइपी कक्षमा भिआइपी विन्दुमा मेटल फ्री गराउने, स्क्यानिङ गर्नेसमेतको काम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले र विमानस्थल सुरक्षा प्रहरीले २४सै घण्टा ड्युटीमा रहने गरी संयुक्त सुरक्षा व्यवस्था मिलाउने,’ समितिले दिएको सुझाबमा भनिएको थियो ।

सोही कुरालाई मध्यनजर गर्दै सरकारले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरीलाई खटाएको छ । सशस्त्र प्रहरीले यही माघ १ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षका चारवटा गेटबाट आउने यात्रुका ‘बडी सर्च’ र सामानको जाँच गर्न थालेको हो । तर, त्यहाँका एक्सरे मेसिन भने अहिले पनि भन्सारकै कर्मचारीले निरीक्षण गर्छन् । 

तस्करी रोक्न मुख्य भूमिका यही हुन्छ । एक्सरे मेसिनमा शंका लागेमा कर्मचारीले पुनः जाँच गर्ने लेख्छन् । पुनः चेक गर्ने भनेर लेखेका झोला जाँच्न भने सशस्त्र प्रहरी पनि खटिन थालेको छ । विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरीलाई राखिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डे बताउँछन् । 



उनका अनुसार सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । एकपटकमा पाँचजनाको टोली राखेर सशस्त्र प्रहरीले २४सै घण्टा ड्युटी थालेको छ । अर्थ मन्त्रालयको आग्रहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सशस्त्र प्रहरी परिचालन गरिएको हो । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ मा सशस्त्र प्रहरी परिचालनसम्बन्धी निर्णय गरेका थिए । 

विमानस्थल भन्सारमा खटिएसँगै सशस्त्र प्रहरीले माघ सात गते आधा किलो सुन बरामद गर्यो । कतारको दोहाबाट आएका झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई सशस्त्रले सुनसहित नियन्त्रणमा लिएको हो । दर्जीले लुकाई–छिपाई अर्ध ठोस बनाएर सुन ल्याएका थिए । सो घटनालाई सशस्त्र प्रहरीले विमानस्थल भन्सारमा खटिएपछिको पहिलो सफलता भनेको छ ।



यसअघि निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएको थियो । गृह मन्त्रालयले निजी सुरक्षाकर्मी हटाएर भन्सार सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिएको हो । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै कमान्डमा हुने गरी अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा सशस्त्र प्रहरी परिचालन गरिएको हो । त्यसको कमान्ड भने भन्सार प्रशासनले गर्ने विभागले जनाएको छ । सशस्त्र प्रहरीले यसअघिदेखि नै भन्सार तथा सीमा सुरक्षाको जिम्मा पाएको थियो । तर, काठमाडौं विमानस्थल भन्सारमा हालसम्म सशस्त्र प्रहरी परिचालन गरिएको थिएन । 

विमानस्थल भन्सारमा प्रहरी तैथान राख्नेबित्तिकै सबै अवैध सामग्री रोकिन्छ नै भन्ने होइन । तर, एउटा निकायबाट छुटेका कुरा अर्को निकायको नजरमा पर्न सक्छ । प्रहरीको विज्ञताका कारण पनि पत्ता लगाउन सहज हुन्छ । -पूर्वडिआइजी हेमन्त मल्ल​

सुन तस्करी बढ्दो, ६ महिनामा ८३ केजी बरामद

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामदको घट्ना बढ्दो छ । पछिल्लो ६ महिनामा ८३ केजी सुन बरामद गरिएको छ । भन्सार गेट बाहिरबाट साउन ३ मा ६० किलो सुन बरामद गरिएको थियो । जसले देशै तरंगित भयो । किनकि नेपालमा पञ्चायतकालदेखि नै सुन तस्करीको इतिहास भए पनि यो नै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको घटना थियो । जुन घटनाले सडकदेखि सदनसम्म तात्यो । 

उक्त घटनाको अनुसन्धान राजस्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गर्यो । त्यति मात्र होइन, सुनको अवैध पैठारीलाई निमिट्यान्न पार्ने भन्दै सरकारले ‘सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग’ समेत गठन गर्यो । 

त्यसपछि सुन तस्करी घटनाले केही महिना सन्नाटा छायो । उक्त समय जसरी सुनले चर्चा पाएको थियो, अब तस्करीको रूपमा सुन ल्याउने आँट कसैले गर्न नसक्ने धेरैको अनुमान थियो । तर, उक्त घटनाको पाँच महिना नबित्दै अवैध सुन तस्करीका घटनाले पुनः देशै तरंगित बनायो । एक हप्ताभित्रमा मात्रै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट साढे २९ किलो अवैध सुन बरामद भयो । मंसिर १९ गते राति उपत्यका अपराध अनुसन्धान कार्यालयकै टोलीले न्युरोडबाट करिब आठ किलो सुनसहित एक व्यापारीलाई पक्राउ गरेको थियो । न्युरोडमा पदप्रसाद पाण्डेले सञ्चालन गरेको ओम पल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट बिल–बिजकविनाका सुनका गहना र टुक्रा नियन्त्रणमा लिइएको थियो ।  

त्यसपछि, मंसिर २१ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई व्यक्ति पक्राउ परे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालय र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले बिहीबार राति बरामद गरेको सुन फ्लाई दुबईको उडान ‘एफजेड ५७३’ बाट भित्रिएको थियो । 

१४ किलो सुन पक्राउ परेको भोलिपल्ट शुक्रबार (मंसिर २२) बिहानै काठमाडौंकै नागढुंगाबाट थप दुई किलो सुनसहित तीन व्यक्ति पक्राउ परे । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई किलो तस्करीको सुनसहित तीनजनालाई पक्राउ गरेको थियो । 

यस्तै, विमानस्थल प्रहरीले मंसिर २३ (शनिबार राति) साढे ६ किलो सुन भन्सार पास भइससकेको अवस्थामा विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । अवैध रूपमा ल्याएको सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पनि पक्राउ परे । उनीहरूलाई पनि सुराकीको आधारमा पक्राउ गरिएको थियो । 

यति मात्र होइन, ६० केजी सुन बरामद घटनापछि पनि गत भदौ ३ र असोज १३ गते केरुङ रसुवा नाकाबाट ल्याएको ३ केजी, असोज १० र ११ गते दोलखा राङजिया नाकाबाट सडकमार्ग हुँदै ल्याइएको सात केजी सुन पनि बरामद गरिएको थियो । त्यस्तै, यही माघ ७ गते आधा किलो सुनसहित एक व्यक्ति पक्राउ परेका थिए । 

तोडिएला तस्करीको सञ्जाल ? 

विमानस्थल भन्सारमा प्रहरी राख्नुपर्ने माग उठेको लामो समय भयो । विमानस्थलमा भन्सार जाँच मात्र होइन, आगमनपछाडि नै प्रहरीको कुनै भूमिका हुँदैन थियो । विमानस्थलको अध्यागमन र भन्सार क्षेत्रको सुरक्षा सम्पूर्ण रूपमा निजामती प्रशासनको नियन्त्रणमा थियो । सुन तस्करी प्रकरणमा भन्सारका कर्मचारी, जाँचमा संलग्न कर्मचारी नै संलग्न भएको विभिन्न अनुसन्धानबाट खुलेका छन् । त्यसैले पनि विमानस्थलमा प्रहरीको सहभागिता खोजिएको नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल बताउँछन् । 

अन्तर्राष्ट्रिय चासोलाई सम्बोधन गर्न बाहिरिने नाकामा प्रहरीको सुरक्षा जाँचमार्फत कडाइ गरिए पनि आफ्नै मुलुकको सुरक्षा निजामती प्रशासनलाई जिम्मा लगाएर सरकारले सधैँ जोखिम निम्त्याइरहेको भन्दै भन्सार जाँचमा प्रहरीको भूमिका हुने गरी व्यवस्थापन हुनुपर्ने माग उठिरहेको थियो । सुन मात्र नभई लागुऔषध, हातहतियारलगायत अवैध सामग्री पनि विमानस्थलबाट पास हुनसक्ने भएकाले ‘क्रस चेक’का लागि पनि अर्को संयन्त्र भन्सारमा तैनाथ हुने उनको तर्क छ । ‘विमानस्थल भन्सारमा प्रहरी तैथान राख्नेबित्तिकै सबै अवैध सामग्री रोकिन्छ नै भन्ने होइन,’ उनी भन्छन्, ‘तर, एउटा निकायबाट छुटेका कुरा अर्को निकायको नजरमा पर्न सक्छ । त्यसमाथि कतिपय कुरामा प्रहरीको विज्ञताका कारण पनि पत्ता लगाउन सहज हुन्छ ।’

तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीको जिम्मेवारीमा भने फरक हुने उनको तर्क छ । सशस्त्र प्रहरी राख्दैमा तस्करी रोकिन्छ भनेर सोच्नु गलत भएको उनी बताउँछन् । ‘सरकारले किन सशस्त्र खटायो ? यो कुरा बुझ्न जरुरी छ,’ उनी भन्छन्, ‘सरकारले आफ्नो स्वार्थका लागि त राखेको होइन ? खाली खटाइदिनका लागि खटाइदिने हो कि कुनै काम विशेषले खटाउने हो, त्यसमा भर पर्छ ।’

कुनै एउटा नयाँ निकायलाई राख्दैमा कायापलट हुन्छ भनेर साेच्नु गलत हुने उनको तर्क छ । ‘यस्ता तस्करीका घटना न्यूनीकरण गर्न ५०औँ वर्षदेखि नेपाल प्रहरी खटिँदा त यो हालत छ,’ पूर्वडिआइजी मल्ल भन्छन्, ‘कुनै एउटा नयाँ एजेन्सी खटाउँदैमा रामराज्य हुन्छ भनेर कल्पना नगर्दा पनि हुन्छ । सशस्त्र मात्र होइन, अरू कुनै पनि एजेन्सी ल्याए पनि तस्करी रोक्न त्यति सजिलो छैन ।’

सबै निकायबीच समन्वय हुनुपर्ने उनी बताउँछन् । अहिले पनि विमानस्थल भन्सारमा भन्सार प्रशासन, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्डयन प्राधिकरणलगायत निकायले काम गरिरहेका छन् । यसरी एकै ठाउँ धेरै निकायलाई राख्दा समन्वयको अभाव हुने सम्भावना बढी हुन्छ । एक–अर्काबीच समन्वय नहुँदा ग्याप सिर्जना हुने र त्यहीँबाट तस्करी अझ मौलाउन सक्ने पूर्वडिआइजी मल्लको भनाइ छ । 

यस्तै, नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी बालुवाटार र सिंहदरबार नसुध्रिएसम्म सुनलगायतका तस्करीका घटनामा कमी नआउने बताउँछन् । ‘अहिले जति पनि विमास्थललाई तस्करीका अखडा बनाइएको छ, त्यो सबै बालुवाटार र सिंहदरबारको काम हो,’ उनी भन्छन्, ‘बालुवाटार र सिंहदरबार नसुध्रिएसम्म सुरक्षा जाँच जुन–जुन निकायलाई दिए पनि तस्करी रोकिँदैन । उल्टै बढ्न सक्छ ।’ यदि सुनलगायत तस्करी रोक्ने हो भने बालुवाटार र सिंहदरबार नै सच्चिनुपर्ने उनको तर्क छ । 

सुनलगायतका तस्करी संगठित अपराध हो । तस्करहरूको संलग्नताले मात्रै सुन अवैध तरिकाले भित्रन नसक्ने उनी बताउँछन् । ‘राजनीतिक, प्रशासनिक संरक्षणविना तस्करी सम्भव छैन,’ पूर्वएआइजी भण्डारी भन्छन्, ‘तपाईं–हामी सबैलाई थाहै छ, तस्करी घटनामा ठूला–ठूला नेता, नेताका छोराछोरीको नाम जोडिएका छन् । कोही थुनामै छन् ।’ सुनलगायतको तस्करीमा मुख्य गरी त्रिपक्षीय मिलेमतो हुने गरेको छ । राजनीतिक दलका नेताहरूको छत्रछायामा व्यापारी र कर्मचारीको मिलीभगतमा यो धन्दा चल्ने गरेको उनी बताउँछन् । जसले गर्दा तस्करी रोकिनेभन्दा पनि मौलाउँदै जाने गरेको छ । 

यता, सशस्त्र प्रहरीले भन्सार जाँचको जिम्मा पाउँदा काम प्रभावकारी हुने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता राजेन्द्र खड्का बताउँछन् । ‘विमानस्थलको भन्सार जाँच हामीले गर्न सुरु गरेका छौँ,’ उनी भन्छन्, ‘योसँगै मान्छेको बडी चेक गर्न पनि निजी सुरक्षाकर्मीलाई भन्दा फौजलाई सहज हुन्छ र प्रभावकारी पनि हुने नै भयो ।’

सशस्त्र परिचालनसँगै भन्सार कार्यालयका कर्मचारीले गर्ने व्यक्तिगत चेकजाँच सशस्त्रले गर्न थालेको छ । तर, सशस्त्र परिचालन पछि तस्करी पूरै नियन्त्रण नहुने उनको तर्क छ । ‘सशस्त्र परिचालन समष्टिगत सुधारमध्येको सामान्य सुधार हो,’ उनी भन्छन्, ‘वान म्यान आर्मीले तस्करी नियन्त्रण हुने होइन, सशस्त्र परिचालन मात्रै पर्याप्त होइन । त्रिभुवन विमानस्थलमा सुरक्षाकर्मी खटाएर मात्रै तस्करी नियन्त्रण हुने अवस्था छैन ।’ 

त्यसका लागि समन्वय हुन जरुरी रहेको उनको तर्क छ । उनका अनुसार  विमानस्थलमा परिचालित सरकारका ५० भन्दा धेरै निकायहरूको ‘एकीकृत टिम’ बनाउनुपर्छ । अनि मात्र तस्करी नियन्त्रणमा सम्भव हुने उनी बताउँछन् । 

‘अहिले विशेष गरेर विमानस्थल भन्सार क्षेत्रको आवगमनमा सशस्त्र प्रहरी खटिएको छ,’ प्रवक्ता खड्का भन्छन्, ‘कम्प्युटर, सर्च गर्नेलगायत पार्ट–पार्टको काम छुट्टा छुट्टै निकायले हेर्छ । एयरपोर्ट संसार जोड्ने नाका भएको हुनाले त्यहाँ सशस्त्रले मात्रै गर्न सम्भव हुँदैन । तस्करी, सामूहिक प्रयत्नमा नियन्त्रण हुने विषय हो । सबै निकायको समन्वय भयो भने केही हदसम्म तस्करी नियन्त्रण हुन्छ ।’ सरकारले पनि निजीभन्दा पनि सशस्त्रलाई खटाउँदा प्रभावकारी हुन्छ कि भनेर खटाएको भन्दै आफ्नो तर्फबाट प्रभावकारी बनाउन सक्दो प्रयास गर्ने उनी बताउँछन् । 

  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार १८:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया