logo-img

भिजिट भिसाका नाममा मानव तस्करी, अदालतको फन्दामा २२ कर्मचारी
कीर्ते र संगठित अपराधसम्बन्धी कसूरमा जिल्ला अदालतमा मुद्दा दायर

अध्यागमन विभागका नौ अधिकृतसहित २२ जनाविरुद्ध मानव तस्करीमा संलग्न भएको अभियोगमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुविरुद्ध लिखत कीर्ते र संगठित अपराधसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा उनीहरू संलग्न भएको प्रहरी प्रतिवेदनले देखाएको छ ।  सरकारी कागजात कीर्ते गरी संगठित रुपमा भिजिट भिसामा मानव तस्करी गरेको देखिएपछि ती कर्मचारीविरुद्ध मुद्दा दर्ता भएको हो । 

जिल्ला सरकारी वकिल कार्यालयले गीता शाह, सरोजकुमार यादव, नरविर खड्का, पदम लामा, मनोज तामाङ, रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्कीविरुद्ध मुद्दा दायर गरेको हो। त्यस्तै, यो सूचीमा फरार रहेका ताराबहादुर कुँवर, केदारबहादुर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, विलम पौडेल, विष्णुप्रसाद अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो लिम्बू, कौशिला मगर, लक्ष्मी राई र रीता दमाईसहित छन्। 

प्रहरी अनुसन्धानमा विमानस्थलबाट बाहिर पठाउनका लागि अध्यागमनका कर्मचारीले ट्राभल एजेन्सीमार्फत रकम लिएर नक्कली कागजात बनाउने गरेको खुलेको थियो। 

पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर मानव तस्करी बढ्न थालेपछि सरकारले भिजिट भिसाको यसअघिको १७ बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

अपराध अनुसन्धान कार्यालयले गत मंसिर १८ गते अध्यागमन विभागका अधिकृत नरवीर खड्कालाई मानव तस्करी गर्ने गिरोहसँग मिलेर सरकारी कागज कीर्ते गरेको आरोपमा पक्राउ गरेको थियो। 





  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार २०:११:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया