logo-img

कोइला अभावले हेटौंडा सिमेन्टको उत्पादन पाँच महिनादेखि शून्य
फाइल तस्बिर

सरकारको स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।  

सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए । रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको उनको भनाइ छ ।

रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ । उक्त उपदान नपाउने कर्मचारीको सङ्ख्या १५ रहेको उद्योग प्रशासनले जनाएको छ ।

दैनिक ७ सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने सो उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ । हाल विगतमा उत्पादित मौज्दात सिमेन्ट बिक्री वितरण भइरहेको छ । उद्योग प्रशासनका अनुसार चालू आर्थिक वर्षमा २ लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट हालसम्म बिक्री भइसकेको छ ।

उद्योगका महाप्रबन्धक पाण्डेले उद्योग सञ्चालनसँगै निरन्तररूपमा सिमेन्ट उत्पादनका लागि कोइला खरिद प्रक्रिया सुरु गरिएको बताए । कोइलाको आपूर्ति हुनासाथ काम अगाडि बढाइने उहाँले जानकारी दिए । उद्योगले एकपटक बोलपत्र आह्वान गर्दा १३ हजार टन कोइला आपूर्ति हुने गरेको छ ।

आव वर्ष २०७६/७७ देखि २०७८/७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार ७ सय ८२ रुपैयाँ नोक्सान भएको थियो । गत आवमा मात्र २३ करोड ५५ लाख रुपैयाँ नोक्सान भएको थियो । 



उद्योग सञ्चालनको माग गर्दै अखिल नेपाल मजदुर सङ्घले आन्दोलन गरिरहेको छ । उद्योगमा हाल ज्यालादारी तथा स्थायी गरी करिब तीन सय कर्मचारी कार्यरत रहेका छन् । यसैबीच हेटौंडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋिद्दीसिद्दी सिमेन्ट उद्योग निरन्तर सञ्चालित छन् । रासस   



  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार १६:४६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया