logo-img

लहानका किसानले फलाए रंगीन काउली, हेर्न आउनेको घुइँचो

सिरहाको लहान नगरपालिका–२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ । 

‘सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बिउ झिकाए,’ उनले भने, ‘परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।’  

उनले एक किलोसम्मको काउली फलाएका छन् । ‘यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पुर्‍याउनसाथ बिक्री हुन्छ । यो जातको काउलीको बिउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,’ साहले भने, ‘आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।’ उनले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो २ सय दरले बिक्री गरेका थिए । 

खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए । ‘सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ । अहिले हेरिसकेपछि मनै आनन्दित भयो,’ प्रधानाध्यापक कुशेश्वर यादवले भने । रासस 





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार ८:०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया