चलचित्र हात्तीछाप : दयाहाङ र उपासनाबीचको रमाइलो लभ केमेस्ट्री
​हात्तीछापमा कमेडी, सामाजिक र राजनैतिक यथार्थ

यही २६ माघदेखि  प्रदर्शनमा आउन लागेको चलचित्र हात्तीछापको प्रिमिएर सो प्रस्तुत गरिएको छ । मंगलबार साँझ चाबहिलको केएल टावरस्थित एफक्युव चलचित्र भवनमा प्रिमियर सो गरिएको हो । उक्त  प्रिमियरमा सौगात मल्ल, बेनीसा हमाल, उपासना सिंह ठकुरी , रिश्ता बस्नेतलगायत कलाकार, फिल्मकर्मी र पत्रकार सहभागी थिए । 

फिल्म हात्तीछापमा सामाजिक र राजनैतिक यथार्थलाई कमेडीको शैलीमा प्रस्तुत गरिएको छ । भूकम्पले उत्पन्न सामाजिक परिस्थिति र अवस्थालाई मियो बनाएर फिल्ममा कथालाई प्रस्तुत गरिएको छ । 

फिल्ममा सौगात मल्लको बोतल राजाको भूमिकाले दर्शक तान्ने छाँट देखिएको छ । फिल्ममा महारानीको भूमिकामा देखिएकी अभिनेत्री बेनीसा हमालको भूमिका छोटो रहे पनि उत्कृष्ट छभन्दा फरक नपर्ला । फिल्ममा नेपालको ऐतिहासिक र प्राचीन घटना र दृश्य समावेश गरिएको छ । दर्शकले फिल्ममा फेरि पनि दयाहाङ र उपासनाबीचको  रमाइलो लभ केमिस्ट्रीलाई देख्न पाउनेछन् । 

प्रिमियरमा सहभागी फिल्मकर्मी तथा कलाकारबाट हात्तीछापले राम्रो प्रतिक्रिया पाएको छ । साथै उपस्थित सबैले कलाकारको अभिनयको प्रशंसा पनि गरे । फिल्मका कलाकार बेनीसा, सौगात मल्ल, उपासना  ठकुरीले फिल्मको कथा वस्तु राम्रो भएका कारण दर्शकलाई फिल्म मन पर्ने दाबी गर्छन् । अभिनेता दयाहाङ भने फिल्म छायांकनमा व्यस्त भएका कारण उक्त प्रिमियरमा उपस्थित भएनन् । 

फिल्मको अन्तिममा ‘हात्तीछाप २ : बोतल राजा’ उल्लेख गर्दै सिक्वेलको घोषणा गरिएको छ । फिल्ममा अभिनेता सौगात मल्ल ‘बोतल राजा’को भूमिकामा छन् । सिक्वेल उनीमै केन्द्रित हुने बुझ्न सकिन्छ । अन्तिममा ‘हात्तीछापमा  अभिनेता दीपकराज गिरीलाई केमियो भूमिकामा  ‘राजा’ भन्दै प्रस्तुत गरिएको छ । ‘हात्तीछाप’मा दीपकराज गिरीको विशेष भूमिका छ । 



फिल्मको प्रिमियरपछि यसको रहस्य पनि खुलेको हो । निर्माण पक्षले फिल्मको प्रिमियर अगाडि दीपकको विषयमा केही पनि कुरा गरेको थिएन । तर, फिल्मको प्रिमियर भएपछि भने दीपकको भूमिकाको रहस्य पनि खुलेको हो । त्यस्तै, ‘हात्तीछाप २’मा पनि उनको अभिनय रहने संकेत गरिएको छ । यद्यपि, यसबारेमा निर्माण टिमले केही  पुष्टि भने गरेको छैन ।

फिल्मले विशेषगरी दयाहाङ राई र सौगात मल्लको आ–आफ्नो कथालाई भनेको छ । तर, यी दुईको कथाको मेल कहाँ गएर हुन्छ भन्ने कौतूहलता दर्शकले फिल्म हेरेपछि मात्र थाहा पाउनेछन् । 



चलचित्र ‘हात्तीछाप’ मा सौगातका साथै दयाहाङ, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, कमलमणी नेपाल, भोलाराज सापकोटा, पुष्कर गुरुङ लगायतको अभिनय छ ।  

  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार १६:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया