नेपाली चलचित्रमा पुराना कलाकारको कमब्याकको होडबाजी

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पुराना कलाकारको कमब्याकको होडबाजी चलिरहेको छ । पहिले खुबै नाम चलेका कलाकार एकएक गर्दै नयाँ पुस्तालाई ठाउँ छोड्दै हराए । लामो समयपछि उनीहरू फेरि चलचित्र क्षेत्रमै फर्किँन लागेका हुन् ।  

चलचित्रमा कमब्याक गर्ने कलाकारको नाम मध्य एक हुन्, विपना थापा । उनी ८ वर्षपछि फिल्म ‘ह्रस्व दीर्घ’बाट दर्शकमाझ आउँदैछिन् । नीता ढुंगानाले निर्माण गरेको यो चलचित्रको दोस्रो सेड्युलको छायाङ्कनका क्रममा विपना एक महिना चितवनमा थिइन् । 

त्यस्तै, अर्का कलाकार नायक राजवल्लभ कोइरालाले नेपाली चलचित्र क्षेत्रमा कुनै समय राम्रो चर्चा पाएका थिए । तर, अमेरिका गएपछि उनी उतै व्यस्त भए । अब उनी फिल्म ‘एक्टर’ बाट कमब्याक गर्दैछन् । राजाराम पौडेल ९ वर्ष अमेरिकामा बसे पनि फर्किएपछि फेरि कलाकारितामा जमिरहेका छन् ।  

पुराना कलाकार  कमब्याकको होडबाजीमा, नायिकाद्वय ऋचा घिमिरे र पूजा चन्द पनि दर्शकमाझ आउँदैछन् । उनीहरूले अमेरिकामा नै छायांकन भएको फिल्म ‘भूठान’मा काम गरेका छन् ।   

कुनै समय एक्सन नायकको रूपमा परिचित नायक विराज भट्टले अब फिल्म बनाउने घोषणा गरेका छन् । उनले फिल्म १२ गाउँ बनाउने भएका छन् । यसअघि, सरोज खनाल, रमेश उप्रेती लामो समय अमेरिका बसेर नेपाल फर्किएका थिए । पुनः चलचित्र उद्योगमा सक्रिय हुने प्रयास गरे । सरोज र विराज भट्टले चलचित्र निर्देशन नै गरे । सरोज निर्देशित ‘बगान’ ले राम्रै कलेक्सन पनि गर्‍यो ।  

विदेशबाट नेपाल आएको समयमा अधिकांश कलाकारहरूले पर्दामा फर्किन चाहेको बताइरहेका हुन्छन् । चलचित्र क्षेत्रले दिएको सफलतालाई नै मुख्य बाटो बनाएर उमेर हुँदा विदेशतिर लम्कने र उमेर छिप्पिँदै गएपछि वा विदेशमा स्थापित भएपछि ‘मेरो चलचित्र, मेरा दर्शक’ भन्दै फर्किने चलचित्रकर्मी पनि निकै भेटिन्छन् ।



अर्कोतिर, कलाकारले कमब्याक गर्दा दर्शकको स्वाद नै फेरिएको हुन्छ । नेपाली फिल्म क्षेत्रले कतिपयलाई कमब्याक गराएको छ भने कतिपयलाई खासै वास्ता गरेको देखिँदैन । अब आउँदो दिनमा यी कलाकारले पहिले जस्तै  दर्शकलाई रिझाउन सफल हुन्छन् त भन्ने प्रश्न यहाँ आउँछ ।    



  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार १४:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया