एक दशकपछि ‘हेर’ ल्याउँदै कर्मा व्याण्ड

नेपाली सांगीतिक व्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एल्बम ‘हेर’ बजारमा ल्याउने भएको छ । ‘हुक्का मेरो डल्ले डल्ले’ गीतबाट चर्चा कमाएको कर्माका नयाँ एलबममा आठ गीत हुनेछन् । यस एलबममा समावेश अधिकांश गीतहरूमा ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ । 

कर्मा व्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुप अन्तर्गतको इभेन्ट तथा कलाकार व्यवस्थापन गरिरहेको एएसक्यूका प्रमुख कार्यकारी अधिकृत(सिइओ) विजय अधिकारीका अनुसार व्याण्डको एलबमको गीतहरुको रेकर्ड पुरा गरेर हाल धमाधम भिडियो निर्माणको काम भइरहेको छ । ‘भिडियो निर्माणको काम सकेपछि औपचारिक रुपमा एल्बम सार्वजनिक गर्नेछौँ’, उनले भने ।

कर्माको ‘हेर’ छैटौँ एल्बम हो । यसअघि ब्याण्डले सन् १९९९ मा पहिलो एल्बम ‘सहर तिम्रो’, सन् २००० मा दोस्रो एल्बम ‘हुक्का’, सन् २००३ मा ‘एसएमएस’, सन् २००७ मा ‘कर्मा’ र सन् २०१३ मा ‘नयाँ सपना’ एल्बम बजारमा ल्याएको थियो ।

केही वर्षदेखि अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेको ब्याण्डले क्यानडा, अस्ट्रेलिया, युरोप, कोरिया र सिंगापुरलगायत देशमा सांगीतिक प्रस्तुति दिइसकेको छ । ‘हाम्रो गीतहरू युवादेखि पाका उमेरका सम्मका दर्शक तथा श्रोताहरूले मनपराउनुभएको छ,’ ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहले भने, ‘अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेपनि हामीले आफ्नो नयाँ एल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो । त्यस कारण श्रोता तथा दर्शकहरूमाझ पुग्न यस पटक नयाँ एल्बम ल्याउँदै छौँ।’

ब्यान्डको ‘हुक्का मेरो’, ‘कहाँ होला घरबार’, ‘मार्‍यो’, ‘छैन मैले तिम्रो चित्त दुखाएको’, ‘सुपारी दाना’, ‘यानीमाया’ र ‘नयाँ सपना’ गीत हिट छन् । ब्याण्डले गत वर्ष ‘कारबारी छाता’ सार्वजनिक गरेको थियो । ब्याण्डमा फ्रन्टम्यान सुरेन्द्रमान सिंहसहित गितारमा फिरोज बज्राचार्य र रिग्जिन वाङ्देल, ड्रममा अनिल शाक्य र बेस गितारमा ईश्वर घले छन् । 





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार १५:९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया