बैँस बिसाउने बहानामा सीमित नबनोस् प्रेम दिवस

पश्चिमा मुलुकबाट भित्रिएको भ्यालेन्टाइन डे अर्थात् विश्व प्रेम दिवस मनाउने प्रचलनले नेपालमा पनि संस्कारको रूप लिँदै गएको छ । भ्यालेन्टाइन डे मनाउने परम्परा नेपाली समाजमा झाँगिदो अवस्थामा छ । विशेषगरी सहर बजारमा एक सातादेखि नै भ्यालेन्टाइनको रमझम सुरु हुन्छ । 

अंग्रेजी क्यालेन्डरअन्तर्गत ७ फेब्रुअरीदेखि १४ फेब्रुअरी अर्थात् प्रेम दिवसका दिनसम्म विभिन्न तरिकाले दिवस मनाउने गरिन्छ । आधुनिक संस्कृतिले गाँज्दै गरेको नेपाली नयाँ पुस्ताले प्रेम दिवसलाई महान् पर्वका रूपमा स्विकार्न थालेका छन् ।

तेस्रो शताब्दीमा रोमका सैनिकहरूमाथि त्यहाँका सैन्य प्रमुखले अघोषित रूपमा विवाहमा प्रतिबन्ध लगाएपछि एक सैनिकले विद्रोह स्वरूप प्रेम विवाह गरेको प्रसंगसँग भ्यालेन्टाइन डेको इतिहास गाँसिएको छ । क्लाउडियसका पादरीले ती जोडीको विवाह जुराइदिएपछि उनै पादरीको नाम भ्यालेन्टाइनबाट यस दिनको सुरुवाती भएको इतिहास छ । भ्यालेन्टाइन पादरीको हत्या भएपछि त्यही दिनबाट भ्यालेन्टाइन डेको परम्परा बसेको इतिहास पढ्न पाइन्छ । 

भ्यालेन्टाइनको हत्यापछि त्यो दिन विश्वभरका युवाहरूका निम्ति प्रेमको विजयी भएको दिनका रूपमा मनाउने परम्परा बसेको मान्यता कायम छ । रोमबाट फैलिएको उक्त प्रचलन नेपालीमा समाजमा झाँगिदै गएको हो ।

यद्यपि, यो दिवसको इतिहास जति रोचक र भावुक छ त्यति नै आलोचित पनि बन्दै गइरहेको छ । इतिहास महान् भए पनि आधुनिकताको नाममा छाडापन भित्रिएको छ । विश्वका थुप्रै आदर्श प्रेमका उदाहरणहरूलाई छायामा राखेर वर्तमान पुस्ताले प्रेमलाई गलत प्रयोग गरिरहेका छन् । 

प्रेमवादी गायक धिरज राई भन्छन्, ‘हाम्रो समाजले प्रेमलाई केटा–केटी बीचको प्रेमलाई मात्र प्रेम ठान्यो र भ्यालेन्टाइन डेलाई त्यही रूपमा स्विकार्दै आएको छ, यो बिल्कुलै गलत छ । ‘आमाबाबु र छोराछोरी बीचको प्रेम, श्रीमान् र श्रीमतीबीचको प्रेम, साथी साथीबीचको प्रेमी र पे्रमिकाबीचको प्रेम पनि प्रेम नै हो, जहाँ आत्मीयता, घनिष्टता र निस्वार्थता रहन्छ, त्यहाँ प्रेमले वास लिन्छ र त्यही प्रेम महान् बन्छ,’ उनले भने । 



प्रेमले श्रद्धा जगाउँछ र विश्वासको वातावरण बनाउँछ । त्यसैले प्रेम संसारको सर्वोत्तम भाव हो । तर, यति हुँदाहुँदै प्रेम दिवसले समाजको नियम तोड्दै जान थालेकोमा लेखक लाओस राई असन्तुष्टि जनाउँछन् । 

उनी भन्छन्,‘समाजको आँखा छल्दै छाडा संस्कृतिको विकास दिनदिनै हुन थालेको छ । प्रणय दिवसलाई बंैसले उन्मत्त भएका कतिपय युवायुवतीहरूले आफ्नो अभीष्ट पूरा गर्ने दिनमा चित्रण गर्दै आएका छन्, यस्तो गर्नु सरासर गलत हो ।’



रंगकर्मी राज शाहको विचार अलिक फरक छ । उनको विचारमा रोमियो जुलियट, ममताज र शाहाजन, लैला मैजुनको प्रेम र नेपाली समाजका मुना र मदनबीचको आदर्श प्रेम हो । तर, समाजले केटा र केटीबीच हुने प्रेमलाई मात्र प्रेम भन्दै आइरहेको छ । अरूप्रति गरिएको प्रेम ओझेलमा राखिएको छ । 

उनी भन्छन्, ‘मुना र मदनका बीचको प्रेममा जति त्याग र बलिदान थियो त्यक्ति नै त्याग थियो, भोटेको प्रेममा पनि पाइन्छ । तर, समय क्रमले मुना र मदनको प्रेमलाई मात्र प्रेम ठान्यो र भोटेले मदनप्रतिको प्रेमलाई महत्व दिएन ।’

कतिपयले प्रेमलाई गलत रूपमा व्याख्या गरेर पवित्र प्रेम दिवसलाई अपवित्र बनाउन खोजेको आरोप लगाइरहेका छन् । उपहार आदन–प्रदानका कारण प्रेम भड्किलो र महँगो बन्दै गएको छ । प्रेमस्वरूप कसैले कसैलाई उपहार दिन्छन् । उपहार सबैले सबैलाई दिन मिल्छ । प्रेमपूर्वक श्रद्धाभावले दिने उपहार सबैका लागि उत्तम ठहरिन्छ  । प्रेम दिवसमा प्रेमी–प्रेमिकाबीच गुलाफको फूल आदान-प्रदानको संकुचित मान्यता मात्र राख्दैन ।  

भ्रम यसमा छ–भ्यालेन्टाइन केटा र केटीका बीचको दिवस हो जहाँ प्रेमी र प्रेमीकाले मात्र प्रश्रय पाउँछन् । त्यसैले यस्तो संस्कार विकास हुँदै गएकोमा नेपाली समाजमा असन्तुष्टि बढेको पाइन्छ । 

‘प्रेम दिवस केटा–केटीबीचको माया र प्रेम साट्ने माध्यम मात्र ठान्नु गलत हो ।’ कसैले माया प्रेम र श्रद्धाले कसैलाई उपहार टक्र्याउँछ भने त्यो उसको समाजप्रतिको इमानदारी र मानवताप्रतिको सद्भाव ठानिएको छ । 

आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्न कुनै अवसर आवश्यक त पर्दैन, तर पनि माध्यम अवश्य आवश्यक छ । पहिले–पहिले प्रेम प्रस्ताव राख्न बिहे–बटुल, रत्यौली, मेलामा मन परेको व्यक्तिलाई सीधै प्रस्ताव राखिन्थ्यो । तर, अब समय बदलिएको छ ।

इन्टरनेट तथा डिजिटल प्रविधिदेखि ठूला सपिङ मलसम्म पाइने उपहारले प्रेम प्रस्ताव गर्न सहज बनाएको छ । इन्टरनेटको सहायताले युवा–युवतीलाई उपहार आदान–प्रदान गर्न कठिन छैन । एक दशकयता नेपालमा सामाजिक सञ्जालले प्रेम प्रस्ताव गर्न र उपहार आदानप्रदान गर्न सजिलो बनाइदिएको छ ।

आफ्नो सामाजिक सञ्जालमा ग्रिटिङ कार्ड सजाएर आफुलाई मन परेको व्यक्तिलाई प्रेमका भावना अभिव्यक्ति गर्न थालिसकेका छन् । हिजोआज युवापुस्ता फेसबुक, ट्विटर, मिग, गुगल प्लसलगायत सञ्जालमार्फत उपहार प्रदान गर्ने गर्छन् । प्रेम दिवस प्रस्तावका लागि उपयुक्त दिन मान्ने युवाहरूको संख्या बढ्दो छ ।

तर, प्रेम अभिव्यक्त गर्न सामाजिक सञ्जालभन्दा पनि बजारमा पाइने गिफ्ट आइटमहरू नै प्रभावकारी बन्ने गरेको युवाहरू सुनाउने गर्छन् ।

पहिले–पहिले सामाजिक सञ्जाल र गिफ्ट आइटमहरू नहुँदा कागजको पानामा रगतले लेखेर आफ्नो भावना व्यक्त गरिन्थ्यो, त्यो धेरै प्रभावकारी थियो । तर, हाल आएर गिफ्टहरू नै प्रेमलाई प्रगाढ बनाउने माध्यम भएका छन् । 

आधुनिक प्रविधि र बदलिँदो सामाजिक परिवेशले प्रेम दिवसको जुन महत्व र सान्दर्भिकता हुनुपर्ने त्यस्तो नभई विसंगति बढेकोमा भने धेरैले चिन्ता व्यक्त गरिरहेका छन् । 

  • प्रकाशित मिति : माघ २७, २०८० शनिबार १८:९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया