फेरि फैलिँदै अफ्रिकन स्वाइन फिभर, समस्यामा बङ्गुरपालक किसान
सतर्कता अपनाउन विज्ञको अनुरोध
फाइल तस्बिर

गत वर्ष केही महिना देखिएर नियन्त्रणमा आएको अफ्रिकन स्वाइन फिभर रोग पुनः फैलिन थालेको छ । गत वर्ष हजारौंको संख्यामा सुंगुर, बुङ्गुर तथा बँदेलको मृत्युको कारक बनेको अफ्रिकन स्वाइन फिभर यस वर्षसमेत नेपालका सात जिल्लामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं, गोरखा, ललितपुर, तनहुँ, कास्की, लमजुङ जिल्लाका जनावरमा यो रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । यसका साथै अन्य केही जिल्लाबाट समेत रोग पुष्टिको जानकारी आउन थालेको विभागले जनाएको छ । 

विभागका अनुसार २०७९ सालको जेठमा पहिलोपटक नेपालमा देखा परेको यो रोग त्यसपछि देशका २८ जिल्लामा देखा परिसकेको छ । तर, तथ्याङ्कमा उल्लेखित संख्याभन्दा बढी नै मरेको हुन सक्ने विभागको अनुमान छ । पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकाल यो रोग उच्च सङ्क्रामक रहेको बताउँदै समयमै सतर्क हुन आवश्यक रहेको बताउँछन् । 

‘गत वर्ष धेरै जिल्लामा सुंगुर, बुङ्गुर मरेर ठूलो क्षति पुगेको थियो । राष्ट्रिय निकुञ्जमा रहेका बँदेलसम्म यसबाट प्रभावित बनेका थिए,’ उनले भने । २०७९ साउन अन्तिमदेखि हालसम्म १६ हजार ५ सय ४५ बङ्गुर मरेको र त्यसमध्ये कास्कीमा मात्रै १५ हजार ३ सय ३८ वटा मरेका विभागले  जनाएको छ ।

डा. ढकालले सङ्क्रमित हुने सुंगुर, बङ्गुर तथा बँदेल प्रजातिमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउँछ । त्यसबाहेक कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, छेर्ने, लड्खडाउने, तुहिने र ज्यानै जाने अवस्था रहन्छ ।



‘रोगी बुङ्गुरसँगको संसर्ग र तिनको ओसारपसारमा प्रयोग हुने वस्तुहरूमार्फत् पनि यो रोग सर्ने सम्भावना हुन्छ,’ डा. ढकाल भन्छन्, ‘नेपालमा धेरैतिर सुङ्गुर–बुङ्गुरहरू घर आसपास फर्म नबनाइकनै पाल्ने गरिएकाले समेत संक्रमण फैलने उच्च जोखिम हुन्छ ।’ यो रोगको कुनै उपचार विधि र खोप नभएका कारण यसबाट समयमै सचेत हुनुपर्ने उनको भनाइ छ ।

विभागका अनुसार नेपालमा पोल्ट्री व्यवसायपछि सबैभन्दा राम्ररी फस्टाएको बङ्गुरपालन व्यवसाय संकटमा पर्न सक्छ । रैथाने तरिकाबाट धेरै समुदायमा बङ्गुरपालन हुँदै आएको छ । नेपालमा बङ्गुरको संख्या झन्डै १५ लाख हाराहारीमा रहेको विभागले जनाएको छ ।



‘मानवीय जोखिम नरहे पनि उच्च संख्यामा सुंगुर/बङ्गुरको मृत्यु हुँदा त्यसमा आश्रित उद्योग नै संकटमा पर्ने भएकाले चनाखो हुन अत्यन्त आवश्यक रहेको छ,’ डा. ढकालले भने । सन् २०१८ सम्ममा अफ्रिकामा मात्र सीमित रहेको यो संक्रमण चीन हुँदै एसियाली मुलुकमा भित्रिएको पशु सेवा विभागले जनाएको छ । 

काठमाडौं उपत्यकालगायत देशका अन्य क्षेत्रमा समेत फैलिएको आशंका गरिएको यो संक्रमण भारतबाट नेपाल भित्रिएको प्रारम्भिक अध्ययनले देखाएको छ । गत वर्ष अफ्रिकन स्वाइन फिभर भारतको आसाम क्षेत्रमा फैलिएको थियो ।

के हो अफ्रिकन स्वाइन फिभर ? 

अफ्रिकन स्वाइन फिभर सुंगुर/बङ्गुर प्रजातिमा भाइरसका कारण हुने महामारीजन्य रोग हो । हालसम्म यसको प्रभावकारी उपचार पद्धति छैन । उपचार पद्धति नहुँदा संक्रमण भएका जनावरमा मृत्युदर १ सय प्रतिशत नै रहेको डा. ढकालले जानकारी दिए । 

कसरी सर्छ अफ्रिकन स्वाइन फिभर ?

– संक्रमित जनावरबीचको प्रत्यक्ष सम्पर्कबाट

– संक्रमित पशुको र्‍याल, रगत, मलमूत्र, दानापानीबाट

– संक्रमित खोरमा गएको मानिसले प्रयोग गरेका सामाग्रीहरूमार्फत

– संक्रमित जनावरको ओसारपसार तथा किनबेचबाट ।

संक्रमणबाट पशुलाई कसरी जोगाउने ?

– घरपालुवा सुंगुर/बङ्गुरलाई जंगली बँदेलसँग सम्पर्क हुन नदिने,

– संक्रमण देखिएका क्षेत्रबाट दाना तथा पाठापाठी ओसारपसार नगर्ने,

– संक्रमित सुंगुर/बङ्गुरलाई जंगली बँदेलको मासु, सुकुटीको माध्यमबाट पनि सर्न सक्ने भएकाले संक्रमणबाट मरेका जनावरहरूलाई गहिरो खाडल खनेर पुर्ने,

– अन्य बथानबाट ल्याइएका जनावरलाई २१ दिन क्वारेन्टाइनमा राख्ने

– फार्मको सरसफाइमा ध्यान दिने ।

  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार १८:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया