ठूलोखोला जलविद्युतको दुई सुरुङको ब्रेकथ्रु, साउनभित्र निर्माण सक्ने लक्ष्य
फाइल तस्बिर

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ र ८ को सीमा क्षेत्रमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको ठाडो सुरुङ र तेस्रो सुरुङ ब्रेकथ्रु भएको छ ।  

इन्टेकबाट सुरुङमार्ग हुँदै ल्याइने पानीलाई विद्युतगृहमा खसाल्न हेडरेस्ट आउटलेटतर्फ खनिएको एक सय तीन मिटर लामो ठाडो सुरुङ र विद्युतगृहबाट खनिएको चार सय ९५ मिटर लामो तेस्रो सुरुङ जोडिने कार्य सम्पन्न भएको आयोजना प्रमुख रवीन्द्र हमालले जानकारी दिए । संयुक्त ऊर्जा लिमिटेडले २०७८ मङ्सिरदेखि निर्माण सुरु गरेको उक्त आयोजनाको २ हजार सात सय मिटर लामो मुख्य सुरुङ गत मङ्सिरमा नै जोडिएको थियो । 

आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर/त्रिपल एस जेभीले सहायक ठेकेदार कम्पनी रोकाया कन्स्ट्रक्सन प्रालिलाई आवश्यक जनशक्ति र मेसिन उपकरणसहित परिचालन गरेकाले आयोजनाको सबै सुरुङ खन्ने काम सकिएको उनले बताए । 

‘निर्माण सुरु भएको २२ महिनामा ७७ प्रतिशत काम सकिएको छ, सुरुङमार्गलाई फिनिसिङ गर्ने काम सुरु भइसकेको छ, विद्युतगृह र बाँधतर्फको काम पनि तीव्र गतिमा छ, आगामी साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ’, आयोजना प्रमुख हमालले भने । सो आयोजनाको विद्युतगृहतर्फ ९० प्रतिशत काम सकिएको छ भने हेडबक्सतर्फ ७० प्रतिशत काम सकिएको छ । 

आयोजनाको सबैभन्दा कठिन मानिने सुरुङ निर्माणको काम सकिएकाले लक्ष्यअनुसार नै आयोजनालाई पूर्णता दिन लागिपरेको आयोजना प्रमुख हमालले बताए । रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने सो आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी  छ ।  

सो आयोजना सम्पन्न गर्न ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न २३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको चरणमा छ । रासस 





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार २२:१३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया