राजेन्द्र लिङ्देनको चेतावनी- राप्रपाका मागलाई उपेक्षा गरे विद्रोह गर्छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे विद्रोहमा परिणत हुने चेतावनी दिएका छन् । बुधबार ४० बुँदे ज्ञापन पत्र सिंहदरबारमा प्रधानमन्त्रीलाई बुझाउँदै जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । 

उनले औपचारिक रूपमा जनदबाबका कार्यक्रम सुरु गरेको बताए । उनले ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको बताए ।

उनले भने, ‘ललिता निवास जग्गा प्रकरण, सुन काण्डको कुरा होस्, नक्कली भुटानी शरणार्थी प्रकरणको कुरा होस्, बाइडबडी लगायतका काण्डहरूको पुनः र पूर्ण छानबिनको कुरा उठाएका छौँ । हामीले यो आन्दोलनलाई सशक्त रूपमा लैजान्छौँ र सरकारले यसलाई मागको रूपमा मात्रै लियो भने र राप्रपका माग उपेक्षा गरियो भने त्यो कठोर बन्दै विद्रोहसम्म जान सक्छ ।’

लिङ्देनले देश धेरै नै बिग्रिसकेको बताउँदै अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गरे । उनले देशलाई नवीन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको बताए । उनले सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापन पत्रमा सुझाव दिएको बताए । 

उनले भने, ‘देशको स्थिति यो अवस्थामा पुग्यो की अब यो यहीँ रही राख्न सक्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले अब पछाडि फर्किनुपर्छ भनेको होइन । अब देश यहीँ पनि बसिरहन सक्दैन । अब नवीन सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजानुपर्छ ।’

उनले अभिभावकीय संस्थाको रूपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनुपर्ने आफूहरूको माग रहेको बताए । उनले धर्मान्तरलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौती गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने बताए । उनले  बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव दिएको पनि बताए । लिङ्देनले राप्रपाका मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको बताए ।  





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १५:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया