logo-img

२३ दिन पैदल हिँडेर राजधानी आइपुगे मिटरब्याज पीडित, आज सिंहदरबार मार्च

न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडित बुधबार काठमाडौं आइपुगेका छन् । मिटर ब्याजीसाहुको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि उनीहरू बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् । 

माघ १६ मा यात्रा थालेयता निरन्तर सडकमै गाँसबास गरेर आएका उनीहरूले बुधबार राति त्रिभुवन पार्कमा चिसो भुइँमा रात कटाए । मीटरब्याज पीडितले आज सिंहदरबार मार्च गर्दैछन् ।

सरकारलाई झक्झकाउन र न्यायका लागि दबाब दिन थानकोटदेखि सिंहदरबारसम्म पैदल मार्च गर्ने कार्यक्रम रहेको मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका प्रवक्ता नीर्ग नवीनले बताए ।

‘हामी तीन वर्षदेखि संघर्षमा छौँ । पटक–पटक आन्दोलन गर्नुपरेको छ । सरकारसँग वार्ता पनि भएको छ । तर सरकारले हामीलाई न्याय दिन चाहेको छैन,’ उनले भने, ‘सरकारले जाँचबुझ आयोग बनायो, ३० हजार पीडितको उजुरी लियो । तर, कारबाही गरेन । त्यहीकारण हामी फेरि संघर्षमा उत्रिनु परेको छ ।’

उनले तराईका २० जिल्ला र भित्री मधेशका आठ गरी २८ जिल्लाका पीडितले यसपटक एकसाथ देशव्यापी पैदलमार्च गरेको बताए । उनीहरूले ६ प्रदेशका २३ जिल्ला पार गरेर काठमाडौं आइपुगेका हुन् ।



‘बिहीबार थानकोटदेखि सिंहदरबारसम्म मार्च गर्छौँ । शुक्रबार ऐक्यबद्धता सभा हुन्छ,’ प्रवक्ता नवीनले भने, ‘ऐक्यबद्धता सभामा सबैलाई सहभागी भएर ऐक्यबद्धता जनाउन हाम्रो आग्रह छ ।’



समितिले मिटरब्याजपीडित किसान, मजदुर, साना व्यवसायी र सबैखाले वित्तीय शोषणबाट उत्पीडितको न्यायका लागि संस्थागत र व्यक्तिगत  प्रतिनिधित्वसहित मिटरब्याजपीडितविरुद्धको न्याय मार्चलाई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ । 

सरकारले यसअघि मिटर ब्याजपीडितका समस्या सम्बोधन गर्न जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले पाँच हजार पीडितका समस्या सुल्झाए पनि बाँकीका समस्याको जानकारी मात्रै बटुलेर सरकारलाई प्रतिवेदन बुझाएको छ । तर, सरकारले सो प्रतिवेदनमाथि कुनै कारबाही अघि बढाएको छैन । सम्झौताबमोजिम सरकारले कुनै काम पहल नगरेपछि आफूहरू फेरि संघर्षमा उत्रिनु परेको समितिका अध्यक्ष अवधेशकुमार कुशवाहाले बताए ।  

मिटरब्याजपीडित यसअघि गत चैतमा पनि पैदलै काठमाडौं आएका थिए । त्यतिखेर सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । 

  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार ७:२५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया