टी–२० सिरिज : नेदरल्याण्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पाहुना टोली नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

उसका लागि माइकल लेविटले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले ५ चौका र ३ छक्कासहित ५४ रन बनाए । लेविटको यो डेब्यू खेल हो ।

यस्तै, साइब्रान्ड एंगलब्रेच्टले अविजित ४९, कप्तान स्कट एडवर्डसले ३३ र तेजा निदामनुरुले ३१ रन जोडे । नेपालका लागि करण केसी र कुशल मल्लले मात्र एक/एक लिन सके । नेपाललाई दुई विकेट रनआउटको रूपमा प्राप्त भयो ।  

नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज विवेककुमार यादव र अविनाश बोहरालाई विश्राम दिएर तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर ललित राजवंशीलाई प्लेइङ–११ मा मौका दिएको हो । 

सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा मंगलबार नामिबियासँग २० रनको हार बेहोरेको थियो । 

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र प्रतिश जिसी ।





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १३:८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया