नेदरल्याण्ड्सविरुद्ध रोहित पौडेलको अर्धशतक
फाइल तस्बिर

त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।

उनले ३५ बलमा ६ चौका र दुई छक्कासहित अर्धशतक बनाएका हुन् । टी–२० आईमा रोहितको यो छैटौँ अर्धशतक हो । उनी अर्धशतक बनाएलगत्तै आउट भए । योसँगै नेपालको चौथो विकेट पतन भएको छ ।  

नेपालले तेस्रो विकेटको रूपमा कुशल मल्ललाई गुमायो । उनी ११ रनमा क्याच आउट भए । नेपालले पहिलो विकेटको रूपमा ओपनर आसिफ शेखलाई गुमायो । उनी ८.१ ओभरमा ३४ रनमा आउट भए ।

नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो । उनी चौथो बलमा शून्यमै आउट भए । कुशल अघिल्लो खेलमा नामिबियाविरुद्ध पनि शून्यमै आउट भएका थिए । उनी आज भिभियन किंग्माको बलमा आउट भए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पाहुना टोली नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

उसका लागि माइकल लेविटले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले ५ चौका र ३ छक्कासहित ५४ रन बनाए । लेविटको यो डेब्यू खेल हो । यस्तै, साइब्रान्ड एंगलब्रेच्टले अविजित ४९, कप्तान स्कट एडवर्डसले ३३ र तेजा निदामनुरुले ३१ रन जोडे । नेपालका लागि करण केसी र कुशल मल्लले मात्र एक–एक लिन सके । नेपाललाई एक विकेट रनआउटको रूपमा प्राप्त भयो ।  



नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज विवेककुमार यादव र अविनाश बोहरालाई विश्राम दिएर तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर ललित राजवंशीलाई प्लेइङ–११ मा मौका दिएको हो । 

सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा मंगलबार नामिबियासँग २० रनको हार बेहोरेको थियो ।  



  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १४:१७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया