मिनी म्याराथनमा दौडिँदै ४८ महिलासहित ८९ चेपाङ
प्रतीकात्मक तस्वीर

नारायणगढदेखि रत्ननगरसम्म आयोजना गरिएको मिनी म्याराथनमा ४८ महिलासहित ८९ जना चेपाङ समुदायका नागरिक सहभागी हुने भएका छन् । सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायबाट ठूलो सङ्ख्यामा मिनी म्याराथनमा सहभागी हुनुलाई सकारात्मकरूपमा लिइएको छ । 

रोटरी क्लब अफ रत्ननगरले यही फागुन १९ गते आयोजना गरेको ‘रोटरी मिनी म्याराथन’ मा उनीहरू सहभागी हुन लागेका हुन् । प्रतियोगितामा अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदायबाट ४८ जना महिला र ४१ पुरुष गरी ८९ जना सहभागी हुने भएका आयोजकले जनाए । 

प्रतियोगितामा लामो दूरी पार गर्ने चेपाङ समुदायलाई नगद २ हजार र छोटो दूरीका चेपाङ महिलालाई १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । ​म्याराथन कार्यक्रमका संयोजक विपिन पोख्रेलका अनुसार खुल्लातर्फको १५ दशमलव चार किलोमिटर र महिला लक्षित पाँच किलोमिटर दूरीको दौड प्रतियोगिता हुनेछ ।  

प्रतियोगितामा दुवै समूहतर्फ गरी ६ सय दुईजनाले सहभागिताका लागि नाम दर्ता गराएको पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको पनि सहभागिता रहनेछ ।   

क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार १५ दशमलव चार किलोमिटरको दौड नारायणगढको उद्योग वाणिज्य सङ्घको कार्यालय नजिकबाट सुरु हुने छभने पाँच किलोमिटरको दौड टिकौली जङ्गलको मध्यभागबाट सुरु गरिनेछ । दुवै दौड रत्ननगरको हरिहर मार्गमा सम्पन्न हुनेछ । भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै रोटरीको जनविश्वास बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

भरतपुर भ्रमण वर्ष र समग्र चितवनको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । क्लबले आयोजना गरेको यो दोस्रो मिनी म्याराथन हो ।  रासस 





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १४:२७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया