टिमको रूपमा वाफको फाइनल पुगेका हौँ, विश्वास छ नेपालले उपाधि जित्नेछ : सावित्रा भण्डारी
फाइल तस्बिर

राष्ट्रिय महिला फुटबल टिमकी प्रमुख सदस्य सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ च्याम्पियनसिपको फाइनलका लागि नेपाललाई शुभकामना दिएकी छन् । क्लब फुटबल खेल फ्रान्स फर्किसकेकी उनले आज हुन लागेको जोर्डनसँगको फाइनलका लागि नेपाललाई शुभकामना दिएकी हुन् । 

फिफाको नियमअनुसार फ्रेन्च क्लब एन अभान्ट ग्वेंगाम्पले सावित्रालाई वाफ फाइनलका लागि अनुमति दिएन । शनिबार क्लबको महत्वपूर्ण खेल भएकाले ग्वेंगाम्पले उनलाई वाफको फाइनल खेल्न अनुमति नदिएको हो ।

यद्यपि सो क्लबले सावित्रालाई फिफा विन्डोमा नभए पनि वाफको सेमिफाइनल भने खेल्न दिएको थियो । यदि ग्वेंगाम्प तालिका बलियो अवस्थामा भएको भए सावित्राले वाफ फाइनल खेल्ने अनुमति पाउने सम्भावना थियो । तर, रेलिगेसन जोनबाट जोगिन शनिबार हुने खेल जित्नैपर्ने दबाब भएकाले ग्वेंगाम्पले सावित्रालाई यसपटक राष्ट्रिय टिमका लागि खेल्न अनुमति नदिएको हो ।  

‘एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैं मेरो लागि सहज वातावरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेकोभन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु,’ सावित्राले सामाजिक सञ्जालमा भनेकी छन्, ‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रूपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौँ । प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुनः एकपटक एकजुट भएर जित हासिल गर्नेछौँ भन्ने विश्वास मैले राखेको छु ।’



साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिपमा सावित्रा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ४ खेलमा ९ गोल गरेकी छन् । सावित्राले हरेक खेलमा गोल गरेकी थिइन् । नेपाल र जोर्डनबीचको फाइनल खेल आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ । 



  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १०:८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया