logo-img

कोटेश्वर पुगेर प्रचण्ड, ओली र देउवाले माधवलाई फकाए, दुई मन्त्री पाएपछि गठबन्धनलाई सघाए

पछिल्ला केही वर्ष यता बालुवाटारमा कुनै राजनीतिक घटनाक्रम या सत्ता नै उथलपुथल हुँदा बुढानीलकण्ठ, बालकोट र खुमलटारमा सरगर्मी बढ्छ । सत्ताको पेरिफेरीमा रहने नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको निवासमा रातदिन बैठक छलफल चल्छन् ।

शीर्ष नेताहरूले एकले अर्कोलाई ‘धोका’ दिन्छन् । त्यसपछि विभिन्न आरोप मात्रै लगाउँदैनन् गालीसम्म गर्न भ्याउँछन् । तर, फेरि भेट्छन्–जुट्छन् । एकले अर्कोलाई फकाउँछन्, सत्ता हातमा लिन्छन् । यस पटक तिनै शीर्ष नेताहरूले भेट्नु र फकाउनु पर्नेमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल परेका छन् । अहिले नेपाल निवास कोटेश्वर तर्फ नेताहरूको दौडधूप बढेको छ । 

यसअघिको गठबन्धन तोड्दै एकीकृत माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन खडा गरेपछि नेपाललाई फकाउन नेताहरू कोटेश्वर पुग्न थालेका हुन् । स्वयंम प्रधानमन्त्री दाहाल आफ्नो पछिल्लो कदमको चार दिन नबित्दै दुई पटक नेपाललाई भेट्न कोटेश्वर पुगिसकेका छन् । 

एमालेबाट छुट्टिएर गएपछि अध्यक्ष केपी शर्मा ओली र नेपाल एउटै मञ्चमा समेत बिरलै देखिए होलान् । एकले अर्कालाई ‘सराप्नु’ बाहेक ठूलो उपलब्धि पनि देखिँदैन । तर यस पटकको विकसित घटनाक्रमपछि भने ओली नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । 

मंगलबार प्रधानमन्त्री प्रचण्डसँगै लिएर ओली कोटेश्वर पुगेका हुन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्ड एमालेतिर लागेपछि नेपाललाई फकाउन र एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन उनीहरू नेपाल निवास पुगेका हुन् । 



कुराकानीका क्रममा नेपालले प्रचण्ड–ओलीसँग वाम एकताको माग गरेका थिए ।  नेपालले वाम एकता नभए आफ्नो पार्टी सरकारमा नजाने अडान लिएका थिए । उसो त प्रधानमन्त्री दाहालले नै अहिलेको यो घटनाक्रमबाट वाम एकताको सुरुवात भएको समेत बताएका छन् । यसअघि पार्टीसमेत एकता गरेर छुटिसकेका प्रचण्ड–ओलीप्रति भने दिगो वाम एकता हुने विश्वास धेरैले गर्न सकेका छैनन् । धेरैले यो घटनालाई सत्ता स्वार्थसँग जोडेर हेरेका छन् । 

एमाले–माओवादी नयाँ गठबन्धन वामपन्थी एकताको प्रयास भएकाले नेपाललाई पनि सँगै आउन प्रचण्डले आग्रह गरिरहेका छन् । प्रचण्ड मन्त्रिमण्डल पुनर्गठन गरेकै दिन नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । 



बेलाबेला प्रचण्डबाट धोका पाउँदै आए पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भने आफूसहितको यो गठबन्धन पाँचै वर्ष टिक्नेमा ढुक्क थिए । उनले बेलाबेला सार्वजनीक कार्यक्रममै गठबन्धन पूरा अवधि चल्ने दाबी गर्दै आएका थिए । देउवालाई गठबन्धन टुट्छ भन्ने रत्तीभर थिएन । तर, प्रचण्डको पछिल्लो कदमले देउवा झस्किएका मात्रै छैनन् आत्तिएका पनि छन् । 

आफ्नै या विपक्षी दलका नेतालाई भेट्न देउवा बिरलै जान्छन् । नेताको घरघर कमै चाहर्ने देउवा यस पटक भने दौड धूपमा छन् । बुधबार उनी नेपाललाई भेट्न कोटेश्वर पुगे । पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पत्नी आरजुसँगै नेता रमेश लेखकलगायतलाई सँगै लिएर देउवा नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । 

नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई पनि सामेल गराउन प्रचण्ड–देउवा सक्रिय भइरहेकै बेला देउवा पनि नेपाललाई फकाउन कोटेश्वर पुगेका हुन् । माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने नै देउवाको प्रयास गरेका हुन् ।

तर, यस पटकलाई देउवाको त्यो प्रयास पनि असफल भएको छ । नयाँ सत्ता समीकरणमा नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ । उक्त पार्टीले संघीय मामिला तथा सामान्य प्रशासनसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालका अन्य कतिपय सर्तहरूका बारेमा पनि छलफल अगाडि बढाएको छ । प्रदेश सरकारमा समेत एक मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । त्यसमा गठबन्धनका शीर्ष नेता सकारात्मक छन् । सरकारमा सहभागी हुने एकीकृत समाजवादीको निर्णयलाई कतिपयले उक्त पार्टीको अस्तित्वसँग जोडेर समेत हेर्ने गरेका छन् ।  

  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १५:४०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया