अन्य दललाई पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन एमालेको आग्रह

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)ले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ । 

शुक्रबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरणले मुलुक विद्यमान सङ्कटलाई समाधान गर्न अनुकूलता प्रदान गरेको निष्कर्ष निकाल्दै त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ५ राजनीतिक दलहरू सम्मिलित सरकारमा अन्य राजनीतिक दलहरूलाई साथ र समर्थन गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको बताए । बैठकले जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरूलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ । 

नयाँ सत्ता समीकरण मुलुकको स्वाधीनता, स्वाभिमान, राष्ट्रियताको प्रश्नमा, विकास र समृद्धिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा फलदायी हुने विश्वास पनि एमालेले लिएको छ । महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले सरकारलाई पार्टीको तर्फबाट सकारात्मक योगदान पुर्‍याउन पार्टीको तर्फबाट सक्दो योगदान गर्ने निर्णय पनि बैठकले गरेको बताए । 

उनले भने, ‘खास गरी मुलुकका सत्ता समीकरणमा आएको परिवर्तनका सन्दर्भका बारेमा बैठकमा छलफल भयो । त्यसलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको छ । र आज मुलुकमा जुन प्रकारको संकटको अवस्था सृजना भएको छ । त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा, जनतामा आशा र विश्वास जगाउने कुराहरूमा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले नेकपा एमालेको तर्फबाट हामीले सकारात्मक योगदान गर्नुपर्दछ भन्ने निष्कर्षमा हामी रहेका छौँ ।’

त्यसै गरी एमालेले आगामी वैशाख १० गते नेकपा स्थापना दिवस भव्य रूपमा मनाउन विशेष समारोह आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसअघि वैशाख ८ र ९ गते पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बस्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिए । एमालेको वार्षिक क्यालेण्डरमा नेकपा स्थापना दिवस विशेष समारोहकाबीच मनाउने तय गरिएको थियो । त्यसलाई सम्पन्न गर्ने विषयमा पनि विस्तृत छलफल गरिएको महासचिव पोखरेलले बताए । 



उनले भने, ‘खास गरी हामीले पार्टी स्थापनाको ७५ औँ स्थापनाको वर्षगाँठको अवसरमा विशेष कार्यक्रमहरू गर्दै जाने योजना बनाएका थियौँ । र वैशाख १० गते पार्टी स्थापना दिवसको दिन एउटा विशेष समारोह आयोजना गर्ने निर्णय थियो । त्यो निर्णयको बेला हामीले देशभरका अगुवा कार्यकर्ताहरू सहभागी बनाउने निर्णय गरेका थियौँ । र त्यसैको सेरोफेरोमा महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने, वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्ने र १० गते पार्टी स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेका छौँ । त्यसैको तयारी कसरी गर्ने भन्ने सन्दर्भमा आज हामीले छलफल गर्‍यौँ ।’ 



  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार १२:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया