जरदारी बने पाकिस्तानको १४औँ राष्ट्रपति

पाकिस्तानको १४ औं राष्ट्रिपति पदमा आसिफ अली जरदारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा इमरान खान समूहका उम्मेदवार महमूद खान अचकजाईलाई पराजित गर्दै जरदारी राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । जरदारीले ४११ मत पाए भने अचकजाईले ११८ मत मात्रै पाए ।

नवाजको पार्टी पिएमएल–एन र बिलावलको पार्टी पिपिपी मिलेर आसिफ अली जरदारीलाई उम्मेदवार बनाएको थियो । जरदारी सन् २००८ मा पनि राष्ट्रपति पनि बनेका थिए । इमरान समर्थक एसआइसी पार्टीले महमुद खान अचकजाईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

राष्ट्रपति निर्वाचनमा मतदानका क्रममा पाकिस्तानको राष्ट्रिय सभाका केही सदस्यले इमरान खान जिन्दावादको नारा लगाएका थिए । जरदारीले आफ्नो पार्टी पिपिपीसहित नवाजको पार्टी पिएमएल–एन र ३ अन्य पार्टी एमक्यूएम–पी, बिएपी, आइपिपीको समर्थन पाएका थिए ।

मौलाना फजल–उर–रहमानको पार्टीले आमनिर्वाचनमा धाँधली भएको आरोप लगाउँदै संसदसँग सम्बन्धित सबै निर्वाचन बहिष्कार गरेकाले राष्ट्रपतिको निर्वाचनमा भाग लिएन ।

पाकिस्तानी मिडिया द डनका अनुसार नयाँ राष्ट्रपतिले आइतबार शपथ लिनेछन् । यसअघि शुक्रबार राष्ट्रपति आरिफ अल्विलाई गार्ड अफ अनरसहित पदबाट बिदाइ गरिएको थियो ।

जरदारी को हुन् ?



आसिफ अली जरदारी पाकिस्तानका पूर्वराष्ट्रपति हुन् । उनी देशको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोका पति र पिपिपी अध्यक्ष बिलावल भुट्टोका पिता हुन् । जरदारी भ्रष्टाचार, बैंक घोटाला, अपहरण र हत्याको आरोपमा करिब साढे आठ वर्ष जेल बसेका थिए । बेनजिरले आफ्नो राजनीतिक इच्छामा जरदारीलाई पार्टीका नेताको रूपमा आफ्नो उत्तराधिकारीको रूपमा नाम दिएकी थिइन् । 

२००७ मा भुट्टोको हत्यापछि, नवाजको पार्टीले पिएमएल–एनसँग गठबन्धनमा चुनाव लडे र जनरल परवेज मुसर्रफलाई सत्ताबाट हटायो । यसपछि जरदारी ६ सेप्टेम्बर २००८ मा पाकिस्तानको राष्ट्रपति बनेका थिए ।



  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार २१:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया