टिप्पणी
सरकारमा रविको दोस्रो इनिङ : पाखण्डी हुने कि पाप पखाल्ने ?
छटपटी र हुटहुटीकाबीच गृह फर्किएका रविले अब देलान् ती आफ्नै ‘खरो’ प्रश्नको जवाफ ?

एक वर्षअघि आधा वर्षको राजनीतिबाटै उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछानेले धेरै दिन सिंहदरबारमा बसेर काम गर्न पाएनन् । एक महिना मात्रै गृह नेतृत्व पाएका रवि एक वर्षपछि पुनः गृहमै फर्किएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिसमेत रहेका रवि पत्रकारितामा सक्रिय रहँदा भन्ने गर्थे  कि सत्ता भागबण्डाकालागि कुनै पनि दल जसले जसलाई जति गालीगलौज र आलोचना गरे पनि कुनै पनि अर्को दलसँग सहजै मिल्नेछन् । 

‘आज एक अर्कालाई वर्गसत्रु ठानेर तथानाम गाली गर्ने ओली, प्रचण्ड, झलनाथ, माधव नेपाल, एकै ठाउँमा उभिनेछन् यो पनि रेकर्डमा राख्नुहोला, कि प्रचण्ड माधवलाई हात्तीको कानमा टाँसिन आएका चमेरा भन्ने कांग्रेसले हामी त प्रतिगमन रोक्न गठबन्धन गरेका दल हौँ नि ! आउनुहोस् फेरि मिलौँ भन्ने छ,’ रविले आफ्नो टेलिभिजनको एक कार्यक्रममा भनेका थिए, ‘जसले जसलाई जति गालिगलौज र आलोचना गरेको भए पनि सत्ताको भागबण्डामा सबको र्याल एकै पटक चुहिनेछ । र, कुनै पनि दल कुनै पनि अर्को दलसँग मिल्न जानेछ ।’

अहिले रवि मूलधारको राजनीतिमामात्रै नभई सरकारमै गइसकेपछि उनले भनेको सोही कुरा, त्यही नियति आफैँले भोगिरहेका छन् । आमनिर्वाचन भएको छोटो समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन पटक सत्ताकालागि गठबन्धन फेरबदल गरिसक्दा दुई पटक रविको पार्टी रास्वपा गठबन्धनमा सहभागी भइसकेको छ । 

हालै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सम्बन्ध तोड्दै एमालेसँग गठबन्धन जोड्दा रविको पार्टी सरकारमा गएको छ । रविको पार्टी सरकारमा मात्रै पुगेको छैन उनी स्वयम गृहमै फर्किन सफल भएका छन् । सरकार बाहिर रहँदा रविमा छटपटी र हुटहुटी दुवै थियो । उनले सरकार, अझ गृहलाई सडकबाट होस् या सदनमै किन नहोस् दर्जनौँ ‘खरो’ प्रश्न गरेका छन् । अब आफ्नै प्रश्नको जवाफ दिने ठाउँमा उनी पुगेका छन् । 



प्रधानमन्त्री ज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ?

सदन र सडकबाट मात्रै होइन रविले बेलाबेला सामाजिक सञ्जालबाट पनि सरकारलाई प्रश्न गरिरहे । गत वैशाखतिर भुटानी शरणार्थी प्रकरण उत्कर्षमा पुगिरहेको बेला त्यसको अनुसन्धान फितलो हुँदै गएकोमा आक्रोश पोखे । 



उनले सामाजिक सञ्जालमार्फत आक्रोशित हुँदै लेखेका थिए, ‘खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तीनका सन्तानको ’जगजाहेर ताण्डव’ लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन । यो आँधीलाई ख्याल सम्झने भुल नगर्नुहोला प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !’

एनसेल प्रकरणमाथि खुला छानबिन गर्न तयार हो ?

मंसिर तेस्रोसाता रविले एनसेल खरिदबिक्रीमाथि निष्पक्ष छानबिन गर्न माग गरे  । उनले ‘सुरुवाती दिनदेखि नै  कुन–कुन नेताले कति कति रकम खाए ?’ भन्दै छानबिनकालागि तयार हुन चुनौती पनि दिए । 

‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो’, त्यस बेला उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन–कुन दलका कुन–कुन नेताले कति कति रकम खाए, कुन–कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ?’   

जनताले भनेको सरकारले के सुन्छ ?

रविले संसदमा बोलेका कुरा समेत नसुन्ने सरकारले जनताले बोलेको के सुन्छ भन्दै कटाक्ष गरे । गत १६ कात्तिकको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले सरकारप्रति कटाक्ष गरेका हुन् । 

उनले भनेका थिए, ‘प्रत्येक संसद् बैठकमा हामी सांसदले राष्ट्रिय महत्त्व सहितका आफ्ना निर्वाचन क्षेत्रका विषय राख्दै आएका छौँ । कहिले मलिन भएर कहिले चर्को स्वरमा नागरिकका आवाज हामीले उठाउँदै आएका छौँ । जनताका दुःख पीडा माग आवश्यकता जस्ताको तस्तै आफ्नो क्षमता अनुसार सुनुवाइ गर्ने कोसिस गर्दै आइरहेका छौँ । मन्त्रीदेखि प्रधानमन्त्रीलाई सोध्छौँ ता कि जनतालाई आश्वस्त पार्न सकियोस् । तर दुःखका साथ भन्छु यो संसदले हामी जनप्रतिनिधिकै आवाज सुनेको छैन भने नागरिक तहको आवाज के सुन्थ्यो ? सुनेको छैन ।’ 

त्यस बेला शीर्ष भनिएका नेताहरूको भाषणमा कुण्ठा चल्ने, मिथ्याङ्क राख्ने र संसद् बन्धक समेत बनाउने गरेको बताएका उनले संसद्लाई जनताको आवाज मुखरित गर्ने थलो बनाउन नसकिएको र विधायकी कामको गति र मति हेर्ने हो भने पनि झन् टिठलाग्दो रहेको उल्लेख गरेका थिए ।

राजस्वले गरिरहेको अनुसन्धान कुन कानुनअनुसार गृहमन्त्रीले सिआइबीलाई दियो ? 

गत साउनमा सुन तस्करी प्रकरणमा नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् भवनबाहिरै संसदीय अभ्यास प्रस्तुत गर्यो । बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि रास्वपाले संसद् भवनअगाडि पार्टीका सांसदहरू भेला भई संसदको अभ्यास प्रस्तुत गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रहेका रविले तत्कालीन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा संसदमा दिएको जवाफ चित्तबुझ्दो नरहेको प्रतिक्रिया दिए । राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सिआइबीलाई कुन कानुनले दियो ? भन्दै उनले प्रश्न गरेका थिए । 

‘सिआइबीलाई नदिने भनेको होइन । मैले सिआइबीलाई दिने कुराको विरोध गरेको पनि होइन । कुनै पनि प्रक्रियामा जाँदा कुनै न कुनै कानुनलाई टेकेर गर्नुपर्छ । हामी कानुनी राज्यमा छौँ । आम नेपाली जनतालाई स्पष्ट पारिदिनुहोला कि कुन कानुनमा टेकेर (गृहमन्त्रीले) यो राजस्व अनुसन्धानबाट सिआइबीमा लैजानुभयो,’ उनले भनेका थिए । 

सुन तस्करी प्रकरणमा ठूला व्यक्ति र निकायहरूको संलग्नता रहेको सभापति लामिछानेको दाबी छ । अहिले सुन तस्करीसहित प्राय ‘काण्ड’ सुनसान जस्तै छन् । 

विनोद चौधरीलाई किन अनुसन्धानको दायरामा ल्याइएन ?

रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनी तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका गरेका थिए । 

२८ माघमा राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि सेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भन्दै प्रश्न गरेका थिए । 

रविले भनेका थिए, ‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिन अगाडि हिरासतमा राखिएको देखियो । जग्गा हडप्दा चौधरीकै जति सेयर भएका अन्य साझेदारहरूमध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि देखिएको छ । तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला । बयान लिइयो कि लिइएन ?’

सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोक्यो ?

स्वयम आफ्नो नामसमेत जोडिएर आइरहेको बेला रविले सरकारलाई  काम कारबाही गर्न कसले रोकेको छ भन्दै प्रश्न गरे । २४ माघमा प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता पक्षका सांसदहरूलाई कहाँ बेथिति छ, कहाँ सुधार गर्नुपर्ने सबै थाहा रहेको बताउँदै त्यो काम गर्न कसले रोकेको भन्दै प्रश्न गरेका थिए । 

उनले भनेका थिए, ‘सत्ता पक्षका सांसदको कुरा सुन्दा कहाँ के समस्या छ के विकृति, विसङ्गति छ, के गरे उपलब्धि हासिल गर्न सकिन्छ सबै थाहा रहेछ, मेरो प्रश्न नगरेको चाहिँ किन ? हामी नयाँ दलले रोकेको हो त ? यदि नयाँ दलले रोकेको हो भने कहाँ रोकेको हो, जानकारी पाउन पाए हुन्थ्यो ।’

गृहमन्त्रीज्यू जिबी राईलाई समात्न किन नसकेको ?

रविले सरकारले सहकारी समस्या समाधानको कामलाई महत्व नदिएको आरोप लगाए । १६ माघमा काठमाडौंको स्वयम्भूमा आयोजित रास्वपा कर्णालीको चियापान कार्यक्रममा बोल्दै रविले गृहमन्त्रीले नै सहकारी समस्या समाधानका लागि काम गर्नुको साटो आफूलाई दुःख दिने काम गरेको आरोप लगाए । 

रविले भनेका थिए, ‘तर, उहाँको ध्यान त यल्लाई चाहिँ छोड्नु भएन, केही भेटिन्छ कि यता खोज्नुस् त्यहाँ खोज्नुस् भेटिन्छ कि भनेर यति समय धाउनु भयो ।’ उनले पूर्वउपप्रधानमन्त्रीलाई समाउने सरकारले जिबी राईलाई किन समात्न नसकेको भन्दै गृहमन्त्रीलाई प्रश्नसमेत गरे ।

रविका यस्ता कैयौँ प्रश्न छन् जसको उत्तर तत्कालीन गृहमन्त्रीबाट पाइएन । रविले पक्राउ किन नगरिएको ?, किन कारबाही नगरिएको ? भनेर प्रश्न गरेका धेरै व्यक्ति अहिले पनि पक्राउ पर्न सकेका छैनन् । धेरै विषय अनुसन्धानकै क्रममा छन् । गृहमन्त्रीको रूपमा दोस्रो पटक सिंहदरबार पसिसकेका रविसँग धेरैले उनकै ती प्रश्नको जवाफ खोजी रहेका छन् । उनको हुटहुटी देखेर आशा पनि गरेका छन् । 

देश केही ‘टाउके’ नेताले टाट पल्टाएरै छोड्छन् भन्दै रविले कुनै दिन टेलिभिजनबाट भन्ने गर्थे  ‘कोही ओलीको पोल्टामा लटपटिने, कोही बाँकी दुईचार जना माधव नेपाल र झलनाथ खनालको सेवा गर्ने यस्तो परिपाटीबाट बनेको मन्त्रिमण्डल कस्तो होला ? तिहारमा देउसी खेलेको पैसा भाग लगाएजस्तो टाउके नेताका नजिक हुनेहरूलाई देशको मन्त्रालय जिम्मा लगाउँदा यो मुलुक टाट पल्टिन्छ लेखेर राख्नुहोला ।’ 

नयाँ दल र नयाँ व्यक्तिबाट जनताले अपेक्षा गरेका छन् । त्यो पछिल्ला निर्वाचनहरूबाट बुझ्न कठिन छैन । तर, आज रवि पनि तिनै टाउकेको शरणमा छन् । नागरिकता विवादका कारण अघिल्लो पटक सांसद र मन्त्रीको पद गुमाएका रविसँग अहिले पनि धेरै विषय जोडिएका छन् । उनको पासपोर्ट विवाद टुंगिएको छैन । सहकारी ठगी प्रकरणमा पनि उनको नाम मुछिएको छ ।

तर, यसअघि सरकारबाट बाहिरीएपछि सुशासन र भ्रष्टचारका विषयमा रवि र उनको पार्टीले प्रश्न उठाउँदै आएको थियो । यद्यपि अहिले प्रश्न मात्रै नभई जवाफ पनि दिन सरकारमा सहभागी भएको रास्वपाले दाबी गर्दै आएको छ । अघिल्लो कार्यकाल गृहमन्त्रीको अनुभवसमेत गर्न नपाएका रविले यो पटक जनताले अनुभव गर्ने गरेर काम गर्ने मौका पाएका छन् । यो पटक आमजनताको मात्रै होइन रविले आफ्नै प्रश्नको समेत जवाफ दिन सक्ने अपेक्षा धेरैले गरेका छन् । त्यसो गर्न नसके उनीमाथि नै धेरै प्रश्न अरूले उठाउने छन् । 

  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १५:२७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया