एमाले उपमहासचिव ज्ञवाली भन्छन्- सत्तारुढ गठबन्धनलाई टिकाउने चुनौती छ
फाइल तस्बिर

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको दाबी गरेका छन् । नयाँ सत्ता समीकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले कुनै पनि खालको बाह्य शक्तिको दौडधुप बिना नै नयाँ सत्ता समीकरण बनेको बताएका हुन् । 

उनले भने, ‘पछिल्लो समय नेकपा माओवादी केन्द्रले, प्रधानमन्त्री स्वयंले त्यो बोध गर्नुभयो कि अब यो बाटोबाट अगाडि बढ्न सकिँदैन भनेपछि हामीले गरेका केही सचेतन प्रयासहरू र उहाँहरू भित्र पनि अब नेपाली कांग्रेससँगको सहकार्य सुविधाजनक छैन । र यसले कुनै पनि परिणाम दिँदैन भन्ने भएपछि उहाँहरू पनि नयाँ सहकार्यमा जोडिन तयार हुनुभयो । अब विगतमा भन्दा तपाइहरुले देख्नुहुन्छ–यो सहकार्यका निम्ति कुनै बाह्य शक्तिहरूको दौडधूप भएको देखिएन । एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भयो ।’ 

कुराकानीका क्रममा उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरूले, स्वदेशकै खेलाडीहरूले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा चुनौतीको रूपमा रहेको समेत स्वीकार गरे । उनले बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरू, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरू ठूलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए । 

उपमहासचिव ज्ञवालीले भने, ‘अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौती हामीसँग छ । किनभने देशको परिस्थिति धेरै नै गम्भीर छ । हामी हिजोसम्म प्रतिपक्षमा भएर अथवा अहिले हामीले नेतृत्व नगरिरहेको भएर त्यसो भनेको होइन कि यथार्थमै देशका सबै आयामहरु बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरू, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरू यी सबैमा एउटा ठूलो संकट छ । यो संकट र यो निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई केन्द्र विन्दुमा राखेर हामी अगाडि बढिरहेका छौँ ।’

उपमहासचिव ज्ञवालीले कांग्रेसले देशको पक्षमा कुनै परिणाममुखी काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेसँगको सहकार्यका लागि तयार भएको पनि बताए ।  





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १३:१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया