कांग्रेस सांसद केसीले भने- पुन र सुनको सम्बन्ध स्पष्ट होस्, रविलाई गृहमन्त्री स्वीकार्न सकिँदैन

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौंस्थित घर कुन स्रोतले बनेको हो स्पष्ट पार्न आग्रह गरेका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले १० वर्षअघि दुई वटा कोठाको डेरामा बसेका उपराष्ट्रपति पुनको अहिले आलिसान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरे । उनले आर्थिक स्रोत स्पष्ट पार्न सभामुखले रुलिङ गर्नुपर्ने मागसमेत गरे । त्यस्तै सुन तस्करहरूसँग अर्थमन्त्री वर्षमान पुनको टेलिफोन सम्पर्क भएको विवरण सार्वजनिक भएको भन्दै तस्करसँगको कुराकानीको अडियो नै संसदमा सुनाउन माग गरे । 

उनले भने, ‘अहिले बजारमा पुन र सुनको कुरा आएको छ । वर्षमान पुन आज सुनसँग जोडिनु भएको छ । सुनका आरोपित कारागारमा छन् । उहाँले सुन तस्करसँग १९ पटक टेलिफोन वार्ता गर्‍यो भनेर अखबारमा आइरहेको छ । उहाँले के के कुरा गर्नुभयो, सुन तस्करसँग के–के छलफल भयो त्यो कुरा यो हाउसमा भ्वाइस डिटेल सुनाउन अनुरोध गर्न चाहन्छु । दश वर्ष अगाडि उहाँ(नन्दबहादुर पुन) कपनको कुनै ठाउँमा डेरामा दुई कोठामा बस्नुहुन्थ्यो । आज पाँच रोपनी जग्गामा आलिसान दरबारमा उहाँ राज भई बक्सेको छ । म चाहन्छु त्यो पैसा कहाँबाट आयो ? कसरी त्यो दरबार बन्यो ? त्यसमा सभामुखबाट रुलिङ हुनका लागि भन्दछु । स्रोत के हो ? कसरी धन प्राप्त भयो ? कसरी घर बनाउनुभयो ? सुनसँग पुनको सम्बन्ध बारेमा स्पष्ट पार्न अनुरोध गर्दछु ।’

सांसद केसीले गृहमन्त्री रवि लामिछाने सहकारीको पैसाबाट ४६ लाख रुपैयाँमा गाडी चढेको भन्दै सहकारी सदस्य नै नभएको व्यक्तिले सहकारीको पैसा चलाउनु आपत्तिजनक भएको बताए । उनले गृहमन्त्री लामिछानेलाई मन्त्री स्वीकार्न आफूहरू तयार नभएको बताए । 

उनले भने, ‘उहाँले(गृहमन्त्री रवि लामिछाने) सहकारीबाट ४६ लाख रुपैयाँको गाडी चढ्नुभएको रहेछ । यो घोर आपत्तिजनक कुरा छ । उहाँ सहकारी सदस्य नभएको नाताले उहाँले लिन मिल्दैन । सहकारी पीडितहरूलाई उहाँले कसरी सम्बोधन गर्नुहुन्छ ? गम्भीर आशंका छ । त्यसैले म भन्छु रविजी तपाई पीडक हो । पीडकले पीडितलाई न्याय दिन सक्दैन । तपाईँले यसको अनुसन्धान नहुन्जेलसम्म विश्राम गरेर बस्नुहोला । तपाई ठिक भएको अवस्थामा आउनुहोला । अहिले कुनै हालतमा तपाईँलाई गृहमन्त्री स्वीकार्नेवाला छैनौँ ।’ 





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार १४:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया