गृहमन्त्री लामिछानेका विषयमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ, प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ । 

सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचि अनुसार गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव पेश गर्न समय दिएसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उभिएर बिरोध जनाएको हो ।

कांग्रेसले बिरोध जनाएपछि सभामुख घिमिरेले कांग्रेस सांसद राजेन्द्र केसीलाई बोल्न समय दिएका थिए । त्यसपछि बैठकमा बोल्दै सांसद केसीले गृहमन्त्री रवि लामिछाने सहकारी पीडक भएको भन्दै गृहमन्त्रीमाथिको प्रश्नका बारेमा प्रधानमन्त्रीको जवाफ माग गरे ।

उनले भने, ‘गृहमन्त्री सहकारी पीडक हुनुहुन्छ । पीडितहरु हजारौँको संख्यामा सडकमा रहनुभएको छ । त्यस्तो अवस्थामा जबसम्म प्रधानमन्त्रीले हाउसमा गएर आम नेपाली जनतालाई आश्वस्त पार्न सक्नुहुन्न, तबसम्म हाउस चल्न सक्दैन भन्ने नेपाली कांग्रेसको ठहर छ । त्यसकारणले सभामुखज्यूको रुलिङ हुनुपर्यो । गृहमन्त्री नै पीडक हो ।’

त्यसपछि सभामुखले आसन ग्रहणका लागि कांग्रेस सांसदहरुलाई आग्रह गर्दा पनि सांसदहरूले विरोध जारी राखेका थिए । त्यसपछि नियमापत्ति गर्दै नेकपा(माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले सभालाई अगाडि बढाउने सांसदहरूको पनि दायित्व भएको भन्दै सभा सञ्चालन गर्न दिन आग्रह गरेका थिए । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पनि गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेकाले त्यस विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीको जवाफ नआउँदासम्म माननीय उपप्रधानमन्त्रीजीको कार्यसूचीमा प्रवेश गर्न दिँदैनौँ ।’ 



बैठक १५ मिनेटको लागि स्थगित भएपनि अहिलेसम्म सञ्चालन हुनसकेको छैन ।  



  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार १४:३८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया