पाशुपत क्षेत्रका पुरातात्त्विक महत्वका धारा, कुवा र इनारको उत्खनन्

काठमाडौं महानगरपालिकाले पाशुपत क्षेत्रमा पुरातात्त्विक तथा लोपोन्मुख अवस्थामा रहेका धारा, कुवा र इनार लगायतको उत्खनन् कार्य थालेको छ । यहाँ दबाइएका, लोप हुने अवस्थामा पुगेका, पुरातात्त्विक तथा ऐतिहासिक महत्वका वस्तुको खोजी कार्य थालिएको महानगरको सम्पदा तथा पर्यटन विभागका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले बताए । 

‘तीब्र शहरीकरणसँगै यहाँका कुवा, इनार, पाटी पौवा, धारा लगायतका संरचनाहरू मासिएका छन् । कतिपय संरचनाहरू पुरिएका छन्,’ उनले भने, ‘पुरातात्त्विक एवं ऐतिहासिक महत्वका वस्तुहरू संरक्षण गर्नुपर्नेछ,  ढिलै पनि महानगरपालिकामार्फत् हामीले प्रयास थालेका छौँ ।’ 

वडा ८ भित्र रहेका नौ वटा इनार, नौ वटा डबली, नौ वटा ढोका, नौ वटा शक्तिपीठ, नौ वटा टोल, नौवटा ढुङ्गेधारा, नौ वटा जात, नौ वटा पोखरी, नौ वटा पाटीपौवा तथा पुरातात्त्विक ऐतिहासिक संरचनाहरूको संरक्षणका निमित्त उत्खनन् सुरुवात गरिएको अध्यक्ष संगतले जानकारी दिए । 

उनले महानगरपालिकापालिका–८ अन्तर्गत पर्ने ताम्रेश्वर मन्दिर परिसरबाट वासुसशी गल्ली जाने तर्फको ऐतिहासिक, पुरातात्त्विक इनारको उत्खनन कार्यसँगै वडा भित्र रहेको सम्पूर्ण ऐतिहासिक वस्तुहरूको उत्खनन कार्यको सुरुवात भएको बताए ।  

पुरातात्त्विक इतिहासले भरिपूर्ण सम्पदाको उत्खननमा वडाले प्रमाणसहित खोजी कार्य अगाडि बढाएको उनले बताए । ‘हामीले जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर परिसर जाने बाटोमा रहेको इनार तथा इटापाखाको पिपल बोटसँगै रहेको इनारको समेत खोजी गरी सप्रमाण उत्खननको तयारी गरेका छौँ,’ वडाध्यक्ष संगतले भने ।



उक्त इनार करिब ४० देखि ५० वर्ष पुरानो भएको र तत्कालीन समयमा स्थानीयवासीले त्यहीँ इनारको पानी  पिउने तथा ताम्रेश्वर महादेवलाई जल अर्पण गर्ने गरेको स्थानीयको भनाइ छ । 

वडाभित्रको सबैभन्दा लामो इनारका रूपमा रहेको उक्त इनार बस्ती बाक्लो भएसँगै वरपरका स्थानीयले इनारलाई पुरेर दबाएको र कंक्रिट बनाएर त्यसमाथि बाटो बनाएकोले अब वडाले उत्खनन् गर्ने योजना बनाएको छ ।  



  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार ८:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया