गृहमन्त्री लामिछानेको निर्देशन- कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश नपर्खिनू
फाइल तस्बिर

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको आइतबार निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत सम्मेलन कार्यक्रममा उनले कानुन कार्यान्वयनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले भने, ‘कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन । कार्य सम्पादनपछि प्रतिवेदन पेस गरे हुन्छ । कानुन कार्यान्वयनमा ढिलासुस्ती, जिम्मेवारी बहनमा आलटाल र नागरिकलाई दुःख–हैरानी दिनेलाई पनि कानुन लाग्छ भन्ने ख्याल गर्नुहोला ।’  

उनले सशस्त्र प्रहरी बललाई पाँचबुँदे निर्देशन दिँदै गैरव्यावसायिक आचरण कुनै पनि हालतमा क्षम्य नहुने स्मरण गराए । गृहमन्त्री लामिछानेले भने, ‘सङ्गठनभित्र त्यस्ता आचरण गर्नेलाई बचाउने प्रयास गर्नेलाई कारबाहीको भागिदार बनाइएन भने कमान्डरविरुद्ध नै ‘एक्सन’ हुनेछ । गैरव्यावसायिक आचरण गर्ने साना–ठूला सबै प्रहरीलाई समान व्यवहार गरिनेछ ।’ 

उनले कार्यक्षमता मूल्याङ्कनका आधारमा पदोन्नति र जिम्मेवारी निर्धारण गरिने बताउँदै सरुवा–बढुवा वा जिम्मेवारी निर्धारणमा कतैबाट दबाब वा प्रभाव पार्ने, अनुचित चलखेल गर्ने र व्यावसायिक प्रतिस्पर्धाभन्दा अन्य उपायको खोजी गर्नेलाई कडा कारबाही गरिने चेतावनी  दिए । 

‘सशस्त्र प्रहरी बल हिजोसम्म कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चाहिँ चल्दैन । चलाउन नसक्ने रहँदैन । कानुन पालना गराउने पूर्णअधिकार तपाईँहरूसँग छ, गराउनूस् । कानुनभन्दा माथि निर्देशन हुन सक्दैन, गम्भीरतापूर्वक ख्याल गर्नुहोला’, उपप्रधान एवं गृहमन्त्री लामिछानेले भने । रासस





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार ६:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया