logo-img

लुम्बिनी विकास कोषको निर्देशन- गुम्बा र विहारमा व्यवसाय नगर्नू

लुम्बिनी विकास कोषले यहाँका गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । कोषले लुम्बिनीका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८ अनुसार त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको छ । 

लुम्बिनी विकास कोषको क्षेत्राधिकारका विहार क्षेत्र भगवान बुद्धको शिक्षा र उपदेशको पूर्णरुपमा पालना गर्नुपर्ने स्थान रहेको स्मरण गराउँदै विहार क्षेत्रलाई बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रको रूपमा स्थापित गर्न अनुरोध कोषले सबै गुम्बा र विहारलाई पत्र पठाएको छ । विहारमा आउने विदेशी तथा उनीहरूको फर्कने मिति उल्लेख गरी सम्पूर्ण विवरण नियमितरूपमा कोषमा प्रस्तुत गर्न आग्रह गरिएको छ । 

साथै कोषले विहार क्षेत्रमा व्यावसायिक प्रयोजनले कुनै पनि कार्य नगर्न/नगराउन अनुरोध गरिएको छ । व्यावसायिक गतिविधि गरिएको पाइएमा कारबाही हुने चेतावनी पनि दिएको छ ।  

लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति केन्द्रको रूपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई सानो बौद्ध संसारको रूपमा परिकल्पना गरी यहाँ विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका लागि जग्गा उपलब्ध गराइएबमोजिम हाल बौद्ध विहार, गुम्बा, ध्यान केन्द्र निर्माण भई सञ्चालनमा रहेको कोषले जनाएको छ । 

गुम्बा र विहारमा पाँच जना भिक्षु/भिक्षुणी र उनीहरुका सहयोगीको रूपमा थप पाँचजना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था रहेको स्मरण गराइएको छ । 

लुम्बिनीका विहार र गुम्बामा बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा त्यसविपरीत होटलले झै कोठा तयार गरी पर्यटक राखिएकामा आपत्ति जनाउँदै लुम्बिनी होटल सङ्घले गत २९ फागुनमा कोषलाई ज्ञापनपत्र बुझाएको थियो । रासस





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार ९:२२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया