कार्यकर्तालाई माधव नेपालको निर्देशन- महाधिवेशन तयारीमा जुट्नू
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् ।   

अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत २१ फागुनमा गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएका हुन् ।   

जनतामा रहेको निराशालाई सम्बोधन गर्न हामीले प्रयास गर्नुपर्ने बताउँदै उनले भने, ‘हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ । तर कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान संगठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ । मन्त्रीहरूबाट परिणाममुखी काम होऊन्, सरकारले राम्रो काम गरोस् ।’    

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्न लागेको महाधिवेशनको तयारी सुरु गरेको छ । अध्यक्ष नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटीका साथै विभिन्न १३ वटा कमिटी गठन गरिएको छ । केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यलाई कमिटीको सदस्यमा राखिएको छ ।    

महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तारकार्य जारी राखेको छ । पार्टीले राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवेदन लेखन कार्य ९० प्रतिशत सम्पन्न गरेको जनाएको छ । महाधिवेशन केन्द्रित अभियान दुई महिनासम्म सञ्चालन गरेकामा यही २५ चैतसम्म चल्नेछ ।  

पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरी ती प्रतिवेदनका आधारमा एउटै दस्तावेज तयार गरिने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । पार्टीभित्रको सबै वैचारिक पक्षलाई समेटेर महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत गरिने जनाइएको छ ।  





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १०:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया