अतिथि मन्त्रीका कारण स्वास्थ्यमा बेथिति

देशमा राजनीतिक अस्थिरताले चरम रूप लिइरहँदा सरकारको कार्यसम्पादनले गति लिन सकेको छैन । दलहरूको स्वार्थकेन्द्रित भागबण्डाको राजनीतिको असरले आमजनताको दैनिक जीवनलाई नै अस्तव्यस्त बनाएको छ । अझ स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र राजनीतिक दलहरूको उपेक्षामा परेका कारण नागरिकले आधारभूत स्वास्थ्यसेवा पाउन पनि मुस्किल परेको छ । वर्षैपिच्छे सरकार, सरकारैपिच्छे फेरिएका मन्त्री र तिनले बनाउने नीतिका कारण स्वास्थ्यक्षेत्र स्वयं झन्झन् रोगी बन्दै गएको छ । 

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव चार वर्ष तीन महिनापछि उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारीसहित पुनः स्वास्थ्य मन्त्रालयको नेतृत्वमा फर्किएका छन् । ​विसं ०७५ जेठमा तत्कालीन केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री नियुक्त भएका यादव अहिले सोही हैसियतमा मन्त्रालय प्रवेश गरेका हुन् । हरेक नयाँ मन्त्रीले पद सम्हाल्नेबित्तिकै नागरिकले सहज रूपमा सेवा पाउने प्रतिबद्धता जनाउने गरेका छन् । नवनियुक्त स्वास्थ्यमन्त्री यादवले पनि आइतबार त्यही परम्परा निर्वाह गरे । तर, नागरिकले अझै सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् । 

स्वास्थ्यमन्त्री यादवले यसअघि पनि स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालिसकेका छन् । त्यसैले पनि उनलाई स्वास्थ्यमा रहेका समस्याबारे बेखबर छु भन्ने छुट छैन । जुन कुरा उनलाई राम्रोसँग थाहा छ । त्यसैले उनले आफू स्वास्थ्यमन्त्री बनेपछि स्वास्थ्य नीति कार्यान्वयन नै आफ्नो पहिलो प्राथमिकता भएको बताइरहेका छन् । 

‘मन्त्रीका रूपमा मैले यसअघिको कार्यकालमा बनाएको स्वास्थ्य नीति कार्यान्वयन नै मेरो पहिलो प्राथमिकता हो । त्यसका लागि आवश्यक व्यवस्था गर्न म लागिपर्नेछु,’ उनले भने, ‘जनताले स्वास्थ्य सेवा सहज रूपमा पाउनुपर्छ भन्नेमा कुनै दुईमत छैन । तर, त्यो सबै गर्न बजेट चाहिन्छ । जुन हामीसँग सधैँ कम छ ।’

यसका साथै स्वास्थ्यमन्त्री यादवले अस्पतालहरूमा लाइन बस्नुपर्ने र शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गरी स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने बताएका छन् । तर, उनले प्रतिबद्धता गरेजस्तो उनको ट्रयाक रेकर्ड भने राम्रो छैन । ०७५ जेठमा स्वास्थ्यमन्त्री भएका यादवले डेङ्गुलगायत रोग नियन्त्रणमा भन्दा विदेश सयरमा व्यस्त भएको भन्दै आलोचना खेपेका थिए । 

स्वास्थ्यमन्त्री उपेन्द्र यादवभन्दा पहिलेका निर्वतमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत कार्यकालभरि नै आलोचना खेपिरहे । निर्वतमान बस्नेतमाथि विदेश भ्रमणमोहदेखि स्वास्थ्य उपकरण खरिदमा भ्रष्टचार गरेको आरोप लागि नै रहेको छ । विदेश भ्रमणमा पनि स्वास्थ्यमन्त्री बस्नेतले मनपरी गरेका थिए । 



मन्त्रालयको विवरणअनुसार युनिसेफ तथा डब्लुएचओ जस्ता विज्ञहरू सहभागी हुनुपर्ने अन्तरराष्ट्रिय सम्मेलनमा मन्त्रीकै सचिवालय तथा निकट व्यक्तिलाई पठाए । यति मात्रै होइन, विज्ञ जानुपर्ने कार्यक्रममा नागरिक समाजका मान्छे पठाए । त्यसैगरी कोरोनाकालमा स्वास्थ्यमन्त्री पद सम्हालेका भानुभक्त ढकाल पनि भ्रष्टचार आरोपमुक्त रहन सकेनन् । उनलाई पनि विभिन्न स्वास्थ्य सामाग्री खरिदमा घोटाला गरेको आरोप लागेको थियो । 

स्वास्थ्य मन्त्रालयमा विभिन्न समयमा विभिन्न व्यक्तिले स्वास्थ्यमन्त्रीको पदभार सम्हाल्ने मौका पाए । समय, राजनीतिक अस्थिरताकाबीच फेरिका स्वास्थ्यमन्त्रीलाई लाग्ने आरोपमा भने कुनै फरकपन देखिएन ।



केही स्वास्थ्यमन्त्रीहरूको ट्रयाक रेकर्ड हेर्दा या त उनीहरू राजनीतिक तानातानमा छोटो समय मन्त्रालयमा बसेका छन् या कुनै न कुनै काण्डमा जोडिएका छन् । अब नवनियुक्त मन्त्री यादवसँग यही चुनौती छ । राजनीतिक तानातानमा समय व्यतीत गरेर जाने, सामान खरिद तथा आसेपासे र कार्यकर्ता नियुक्ति काण्ड मच्चाउने वा जनहितमा काम गरेर दीर्घकालीन सकारात्मक छाप छोडेर जाने ।

स्वास्थ्यमन्त्रीका रूपमा दोस्रो कार्यकाल सुरु गरेका यादवको पहिलो चुनौती भनेकै आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र व्यवस्थित गर्नु रहेको जनस्वास्थ्यविद् बताइरहेका छन् । ‘नीतिगत रुपमा स्वास्थ्यमा धेरै कुरालाई सम्बोधन गरिएको छ । तर, कार्यन्वयनको पाटो भने फितलो छ । नीतिगत कुरा सकारात्मक हुँदाहुँदै पनि व्यवस्थापन भने एकदमै फितलो छ,’ जनस्वास्थ्यविद् शरद वन्त, ‘आधारभूत स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा कसरी पुर्याउने त्यो अहिलेका स्वास्थयमन्त्रीसामु रहेको छ । यसका साथै स्वास्थ्य बिमा कार्यक्रममा केही सैद्धान्तिक त्रुटिहरू छन् । ती त्रुटि भनेको स्वास्थ्य बिमा कार्यक्रम लोक कल्याणकारी हुन नसक्नु हो । स्वास्थ्यमन्त्रीले यसबारेमा पनि गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।’

उनका अनुसार सरकारले सामाजिक सुरक्षाका रूपमा स्वास्थ्य बिमालाई अगाडि सारे पनि त्यसको कार्यान्वयनको पाटो फितलो छ । स्वास्थ्य बिमामा धेरै बेथिति भयो । जनताले आधारभूत स्वास्थ्य सेवा त निःशुल्क पाउँछन् भनेर संविधानले नै भनेको छ । स्वास्थ्य बिमाबाट प्राप्त गर्ने सकिने सेवा त्यही आधारभूत तहको उपचारभन्दा फरक नभएको उनले जानकारी दिए । 

डा. वन्तका अनुसार हामीसँग स्रोतको कमीका कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको होइन । हामीसँग भएको स्रोत, साधनको सही ठाउँमा सही तरिकाले प्रयोग गर्न नजान्दा स्वास्थ्य क्षेत्रमा समस्या थपिएको हो । प्रभावकारी ढंगबाट हामीसँग भएका स्रोतको उपयोग गर्न नसक्दा आमनागरिकले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ ।

सधैँ विवादमा स्वास्थ्य सामग्री खरिद

स्वास्थ्य सामग्री खरिदको विषय जहिले पनि विवादित हुँदै आइरहेको छ । उपकरण तथा औजार खरिदमा सुरुदेखि नै हुने सेटिङ र भ्रष्टाचारको विषय अख्तियारसम्म पुगेका छन् । यसको जालो तोड्ने प्रमुख चुनौती स्वास्थ्यमन्त्रीसामु रहेको सरोकारवालाहरूको भनाइ छ । 

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भए पनि स्वास्थ्य मन्त्रालय र यसअन्तर्गत निकायमा ठाडो राजनीतिक हस्तक्षेप हुँदै आइरहेको कुरा कसैसामु लुकेको छैन । सरकार फेरिएसँगै बिमा बोर्ड, अस्पताल र विभागहरूमा आफ्नो मान्छे ल्याउने प्रतिस्पर्धा नै चल्छ । अहिलेका स्वास्थ्यमन्त्रीले पनि फेरि यस्तै गल्ती दोहोर्याए स्वास्थ्य क्षेत्रको सुधार कागजमा मात्रै सीमित हुने स्वास्थ्य सेवा विभागका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीको भनाइ छ ।

लामो समयदेखि चिकित्सकको दरबन्दी थपिएको छैन भने दक्ष जनशक्ति पलायन हुने क्रम जारी छ । यस्ता दर्जनौँ समस्या, जसलाई समाधान गर्नुपर्ने चुनौती नयाँ स्वास्थ्यमन्त्री उपेन्द्र यादवसामु रहेको जनस्वास्थ्यविद् डा. वन्त बताउँछन् । 

‘पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निजी क्षेत्र हावी भइरहेको छ । सरकारी स्वास्थ्य संस्था व्यवस्थित गर्न नसकेको अवस्थामा निजी क्षेत्र हावी हुँदा गरिब जनता मारमा परिरहेका छन्,’ डा. वन्त भन्छन्, ‘अहिलेको सरकारले निजी क्षेत्रलाई व्यवस्थापन गर्नुपर्छ । अहिलेको मन्त्रीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने एउटा यो पाटो हो । यस्तै चिकित्सा शिक्षा अध्ययन, अध्यापनबारेमा पनि सोच्नुपर्ने बेला भएको छ ।’

उनका अनुसार अहिलेको सरकार, स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यमन्त्रीले गम्भिर, इमानदार र बफादार भएर स्वास्थ्य क्षेत्रमा भएका, देखिएका विभिन्न चुनौतीलाई समाधान गरेर अगाडि बढ्ने बेला आएको छ । अहिलेका स्वास्थ्यमन्त्रीले पहिलो कार्यकालमा सुखद् छाप नछाडेका कारण पनि उनले कस्तो काम गर्लान् भनेर अहिले नै भनिहाल्न उपयुक्त समय नभएको समेत डा. वन्तले बताउँछन् । 

‘अहिलेका स्वास्थ्यमन्त्रीका लागि स्वास्थ्य मन्त्रालय नयाँ होइन । उहाँले एक चरण मन्त्रालयका बारेमा बुझिसकेकाले यहाँ भएका समस्या समाधानतिर ध्यान दिने यो उपयुक्त समय हो,’ उनले भने । 

  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १९:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया