१७औँ सिजनको आइपिएल आजदेखि, पहिलो खेलमा बैंग्लोर र चेन्नई भिड्दै
फाइल तस्बिर

१७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि सुरु हुँदैछ । १० टिमले प्रतिस्पर्धा गर्ने आइपिएलको पहिलो खेलमा चेन्नई सुपर किंग्स र तीन रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टिमबीचको खेल शुक्रबार राति ८ः१५ देखि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सुरु हुनेछ । दुवै टिम जितका साथ प्रतियोगिताको सुरुवात गर्ने सोचमा छन् । 

हेड टु हेडको कुरा गर्दा हालसम्म चेन्नई र बैंग्लोरले ३१ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा चेन्नईले २० तथा बैंग्लोरले १० खेल जितेको विगत छ । यी दुई टिमबीचको एक खेल भने रद्द भएको छ ।

गत सिजनमा भएको खेलमा चेन्नईसँग बैंग्लोर ८ रनले पराजित भएको थियो । बैंग्लोर शुक्रबार गत संस्करणको हारको बदला लिने योजनामा हुनेछ । चेन्नई घरेलु मैदानको फाइदा उठाउँदै बैंग्लोरविरुद्धको अपराजित यात्रा कायमै राख्ने सोचमा छ ।   

यसपटक चेन्नईमा रितुराज गायकवाड र बैंग्लोरमा फाफ डुप्लेसिस कप्तान रहेका छन् । उपाधि दाबेदार मानिएका यी दुई टिमको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ ।



चेन्नई यसपटक सर्वाधिक छैटौँपटक आइपिएल ट्रफी जित्ने योजनामा छ । उसले यसअघि सन् २०१०, २०११, २०१८, २०२० र २०२३ मा उपाधि जितेको थियो । चेन्नई पाँचपटककै उपविजेता टिम पनि हो । बैंग्लोरले भने हालसम्म आइपिएल ट्रफी चुम्न सकेको छैन । 



यद्यपि उसले सन् २००९, २०११ र २०१६ को फाइनल भने खेलेको थियो । बैंग्लोर योपटक १७ वर्षदेखिको उपाधि खडेरी तोड्ने योजनामा छ । आइपिएलको सबैभन्दा अभागी टिम भनेर चिनिने बैंग्लोरबाट कयौँ स्टारले खेले । तर, उपाधि भने कुनै खेलाडीले पनि दिलाउन सकेनन् ।

यसपटक पनि बैंग्लोरको टिममा विराट कोहली, फाफ डुप्लेसिस, ग्लेन म्याक्वेल, मोहम्मद सिराज, दिनेश कार्तिक, क्यामरुन ग्रीनजस्ता स्टार रहेका छन् । 

आइपिएलको यस सिजनमा ‘स्मार्ट रिप्ले सिस्टम’ लागू हुने भएको छ । निर्णयमा स्पष्टता र गति बढाउने उद्देश्यले आइपिएलमा ‘स्मार्ट रिप्ले सिस्टम’ लागू गरिन लागिएको हो ।

स्मार्ट रिप्ले सिस्टममा टीभी अम्पायरले दुई ‘हक आइ’ अपरेटरबाट सिधै आठवटा ‘हाइ स्पीड’ क्यामेराद्वारा खिचिएका तस्बिर प्राप्त गर्न सक्नेछन् । अहिलेसम्म तेस्रो अम्पायर र ‘हक आइ’ अपरेटरकोबीचमा सम्बन्ध जोड्ने काम गरिरहेका टिभी प्रसारण निर्देशक अब यस नयाँ प्रणालीमा संलग्न हुने छैनन् ।  
 

  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार ७:२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया