logo-img

आइपिएलका सर्वाधिक महँगा स्टार्कको प्रदर्शन : ४ ओभरमा बिनाविकेट ५४ रन !

भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर (आइपिएल) मा शनिबार राति कोलकाताले हैदराबादविरुद्ध ४ रनको रोमाञ्चक जित निकाल्यो । २ सय ९ रनको लक्ष्य दिँदा पनि कोलकातालाई आफ्नै मैदानमा जित निकाल्न निकै सकस भयो । झन्डै हारिसकेको खेलमा अन्तिम ओभरमा कमब्याक गर्दा कोलकाताले बाजी मार्‍यो ।

२०औँ ओभरमा हैदराबादलाई जितका लागि १३ रन आवश्यक थियो । तर, यस ओभरमा उसले २ विकेट गुमाएर ८ रन मात्र जोड्न सक्यो । १८औँ ओभरसम्म खेलमा कोलकाता नै हाबी थियो । तर, १९औँ ओभरले भने खेलको नतिजा उल्टिने सम्भावना बढ्यो ।

यो ओभरमा बलिङमा थिए आइपिएल इतिहासकै सर्वाधिक महँगा खेलाडी मिचेल स्टार्क । यी अस्ट्रेलियन स्टारलाई कोलकाताले अक्सनबाट २४ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो । 

डेथ ओभर विशेषज्ञ मानिने स्टार्कले हैदराबादविरुद्ध कोलकातालाई सहजै जिताउने अनुमान थियो । तर, पारिश्रमिक पनि महँगै पाएका उनी बलिङमा पनि महँगा नै सावित भए । अर्थात् स्टार्कले १९औँ ओभरमा ४ छक्कासहित कूल २६ रन खर्चिए । उनले आफ्नो चार ओभरको स्पेलमा बिनाविकेट ५४ रन दिए । शनिबारको प्रदर्शनपछि स्टार्क अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् ।



यदि हैदराबादविरुद्धको खेल गुमाएको भए कोलकाताका समर्थकले उनलाई ‘भिलेन’ को उपमा दिने पक्काजस्तै थियो । तर, २० लाख भारु मात्र पारिश्रमिकका साथ खेलिरहेका युवा बलर हर्षित रानाले अन्तिम ओभरमा कोलकातालाई रोमाञ्चक जित दिलाए । २२ वर्षीय रानाले ४ ओभरमा ३३ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए । कोलकाताको जितमा नायक सावित भएका अर्का स्टार हुन्, आन्द्रे रसेल । 

लगातार विकेट गुमाइरहेको कोलकाता उनकै ब्याटिङको बलमा बलियो स्थितिमा पुगेको थियो । मात्र २५ बल खेलेका रसेलले सात छक्का र तीन चौकासहित अविजित ६४ रनको आक्रामक पारी खेले । बलिङतर्फ उनले २ ओभरमा २५ रन दिएर महत्वपूर्ण दुई विकेट हात पारे । अलराउन्ड प्रदर्शन गरेका रसेल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।



गत सिजनमा पहिलो खेल हारेको कोलकाताले यसपटक भने राम्रो सुरुवात गरेको छ । ऊ आइपिएल २०२३ को पहिलो खेलमा लखनउसँग एक रनले पराजित भएको थियो ।

कोलकाताले हालसम्म दुईपटक आइपिएल ट्रफी जितेको छ । ऊ सन् २०१२ र २०१४ को आइपिएल च्याम्पियन हो । कोलकाता यसपटक १० वर्षदेखिको उपाधि खडेरी तोड्ने दाउमा छ ।  

  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार १३:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया