logo-img

११ हजार स्थानीयमाझ चलचित्र ‘मेयर’ को छायाङ्कन

नेपाली चलचित्र ‘मेयर’ को सर्लाहीमा ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए ।

खनालले फेसबुकमा स्टाटस लेख्दै खुसीसमेत साटेका छन् । ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा ‘मेयर’को छायाङ्कनको लागि आउनुभएका ११ हजार स्थानीयको माया हो । नेपाली सिनेमा निर्माणमा एउटा महत्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित महानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिमबाट हार्दिक आभार व्यक्त गर्दछु’, उनले लेखेका छन् ।

करिब एक महिनादेखि सर्लाहीको वाग्मती नगरपालिकामा फिल्मको छायाङ्कन गरिरहेका दीपेन्द्रले फिल्मका लागि स्थानीयको साथ राम्रो पाइरहेको बताए । फिल्म ‘मेयर’ सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाको जीवन संघर्षमा आधारित छ । फिल्मको केही दृश्य काठमाडौं र सिन्धुलीमा खिचिनेछन् ।



फिल्ममा खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन् । उनको अपोजिटमा अभिनेत्री वर्षा राउत छिन् । पटकथा प्रोडक्सनको ब्यानरमा बनिरहेको फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बीसीलगायतको पनि अभिनय छ । फिल्ममार्फत मेयर थापाकी छोरी अर्विशा थापाले अभिनयमा डेब्यू गर्दैछिन् ।

श्रष्टिमा खनाल र शर्मिला पाण्डे निर्माता रहेको फिल्ममा निर्देशक दीपेन्द्र कार्यकारी निर्माता छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा कृष्णबहादुर थापाको छायांकन छ ।





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार ८:३८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया