logo-img

दुई महिलाबीच ‘अनैतिक सम्बन्ध’ रहेको भन्दै निर्घात कुटपिट


कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ स्थित सोल्टाघयनकुरमा आफूलाई समलिंगी महिला बताउने राधिका विक (नाम परिवर्तन) लाई परिवारका सदस्य र गाउँलेहरू मिलेर गरिएको निर्घात कुटपिट एवम् यातनाको घटनाप्रति चौतर्फी विरोध भएको छ । 

चैत ११ गतेका दिन अर्को एक महिलासँगै बसेको आरोपमा विक र सँगै बसेकी महिलामाथि निर्घात कुटपिट एवम् चरम यातना दिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि मानवअधिकारवादी संस्थाहरूले उक्त घटनाको विरोध गरेका छन् ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका पक्षमा आवाज उठाउँदै आएको नील हिरा समाजले घटनाको विरोध जनाउँदै तत्काल सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘एक व्यक्ति अर्को व्यक्तिसँगै बसेकै आधारमा न्यूनतम मानवीयता समेत नराखी सारा परिवार र गाउँलेहरू मिलेर निर्घात कुटपिट गरिनु कहाँ सम्मको निरलज्जता र घृणित कार्य हो ? यस्तो घृणित र आपराधिक कार्यले नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय मात्र नभई, एक दलित र एक मानवमाथि क्रूर व्यवहार भएको हाम्रो ठहर छ ।’

‘नेपालको संविधानको धारा १२, धारा १८ र धारा ४२ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकार सुनिश्चित गरिएको छ । समुदायका व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत स्वतन्त्रतामा कुनै बन्देज नभएको कुरा संविधानले प्रस्ट पारेको छ । तर नेपाली समाज अझै पनि परम्परागत सोच र मान्यताबाट ग्रसित हुँदा यस्ता किसिमका हर्कतहरु दोहोरिनुले मानव अधिकार र संविधानको मर्म माथि नै प्रहार भइरहेको नील हिरा समाजको निष्कर्ष छ । दुई महिलामाथि भएको कुटपिटको घटनाको घोर भर्त्सना गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाही गर्न हामी जोडदार माग गर्दछौँ । साथै पीडित व्यक्तिको तत्काल उद्धार गरी आवश्यक उपचार र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

समाजले राष्ट्रिय महिला आयोगलाई पत्र लेख्दै घटनाको छानबिन गर्न माग गरेको छ । साथै राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरीको मानव अधिकार सेललाई घटनाबारे लिखित जानकारी गराएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन् ।



अध्यक्ष गुरुङले भनिन्,‘एक जोडी समलिंगी महिलाबिच भएको प्रेम सम्बन्धका कारण निर्घात कुटपिट गरी यातना दिएको भिडियो अहिले सामाजिक सञ्जालमार्फत निल हिरा समाजमा सूचना प्राप्त भएको र सो भिडियो चौतर्फी रूपमा सार्वजनिक भएको छ ।’

‘आफू समलिंगी महिला भएको र दुई जनाबिच प्रेम सम्बन्ध रहेका कारण उनीहरूमाथि निर्घात कुटपिट भएको छ । मानव अधिकार विरोधी घटना र हिंसाप्रति हाम्रो घोर आपत्ति छ । उक्त घटनाको सत्यतत्य छानबिन गरी पीडितलाई उचित न्याय र पिडकलाई  कारबाही गर्नका निमित्त आवश्यक प्रक्रिया अगाडी बढाउन माग गरेका छौँ,’ अध्यक्ष गुरुङले भनिन् ।



घटनाप्रति यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासंघले पनि आपत्ति प्रकट गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मानिसहरूको ठूलो समूहले सम्बन्धित व्यक्तिहरूलाई लछारपछार गर्दै लाठीले प्रहार गरिरहेको देख्न सकिन्छ । 

  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १५:३८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया