भरतपुर आउने पर्यटकले आजदेखि बाघ देख्न पाउने
फाइल तस्बिर

निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन् । यहाँ आउने पर्यटकले आक्कलझुक्कल मात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन् । 

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २ लाख हाराहारी पर्यटक घुम्ने गर्दछन् । तीमध्ये निकै न्यून पर्यटकले मात्र बाघ देख्ने अवसर पाउँछन् । निकुञ्ज र मध्यवर्ती घुम्ने अधिकांश पर्यटकले एक सिङ्गे गैँडा भने हेर्ने अवसर पाउँछन् ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्ष मनाउँदै गर्दा दुई नयाँ गन्तव्यको खोजी गरेको छ । त्योमध्येको एक पाटेबाघ यहाँ आउने पर्यटकलाई देखाउने र अर्को दियालो दरबार प्रवेशको वातावरण बनाउने रहेको थियो । गत सातादेखि दियालो बङ्गला सञ्चालनको जिम्मेवारी महानगरपालिकाले लिएको छ । 

यससँगै आजदेखि भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा दुई पाटेबाघ सर्वसाधारणका लागि हेर्ने अवसर महानगरले दिलाएको छ । महानगरपालिका–६ देवनगरस्थित वन्यजन्तु उद्धार केन्द्रको आज उद्घाटन गरी सर्वसाधारणका लागि बाघ हेर्ने व्यवस्था मिलाइएको हो । 

केन्द्रको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले निकुञ्जभित्र खोरमा राखिएका बाघलाई केन्द्रमा ल्याएर सर्वसाधारणका लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको बताइन् ।  

विभिन्न ठाउँमा मानिसलाई आक्रमण गरेर नियन्त्रणमा लिइएको बाघ यहाँको खोरमा राखिएको उनले बताइन् । ‘निकुञ्ज र आसपासका क्षेत्रका नरभक्षी बाघलाई निकुञ्जभित्रको सट्टामा बाहिर सर्वसाधारणले हेर्न मिल्ने गरी राखिएको हो,’ मेयर दाहालले भनिन् । 



उनका अनुसार आजदेखि यहाँ आउने पर्यटकले बाघ नहेरी फर्कनु पर्दैन । महानगरपालिकाले बाटो, मचान, कम्पाउन्डलगायत निर्माणमा १ करोड खर्च गर्ने गरि सो गन्तव्यको विकास गरेको मेयर दाहालले बताइन् । यस क्षेत्रमा गैँडालगायत वन्यजन्तुसमेत ल्याएर खुल्ला चिडियाखानाका रूपमा विकास गरिने उनले जानकारी दिइन् ।

उपप्रमुख चित्रसेन अधिकारीले नयाँ गन्तव्य थप गरेर भ्रमण वर्ष सफल बनाउन लागिएको बताए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना र बरण्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले अब सर्वसाधारणका लागि बाघ हेर्ने अवसर मिल्ने बताए । रासस 



  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १४:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया