दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत जारी भएको हतियारका विषयमा एक छानबिन समिति गठन गरेको छ । बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा आज मन्त्रालयले छानबिन समिति गठन गरेको गृहका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए । 

यही ५ चैतमा सर्वोच्च अदालत परिसरमा जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा  प्रसाईँको नाममा जारी भएको इजाजतपत्र २२ बोर ए ३५४७५२ नम्बरको हतियारसहित उनका दुईजना अङ्गरक्षक पक्राउ परेका थिए । पक्राउ पर्नेमा दीपक खड्का र राजकुमार धिमाल रहेका थिए ।

उक्त घटनामा परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतबाट हतियार कानुनविपरीत इजाजतपत्र जारी भएको देखिन आएकाले सो इजाजतपत्र के–कसरी नवीकरण भएको हो भन्ने सम्बन्धमा आवश्यक छानबिन गर्न गृहलाई आदेश दिँदै उनीहरूलाई रिहा गर्न आदेश भएको थियो ।

सर्वोच्चले अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्न पनि आदेश भएकाले सोही आदेश कार्यान्वयनका लागि गृहले छानबिन समिति गठन गरेको हो ।

व्यक्तिसँग रहेका हातहतियारको दुरुपयोग हुन नदिन र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गर्नुपर्ने कामका विषयमा गृह मन्त्रालयले उक्त समिति गठन गरेको र कार्यप्रारम्भ गरेको मितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । 

मन्त्रालयका सहसचिव पाण्डेको संयोजकत्वमा बनेको छानबिन समितिका सदस्यहरूमा उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई तथा सदस्यसचिवमा गृहका उपसचिव अधिकारी रहेका छन् । 



समितिलाई जिल्ला प्रशासन कार्यालय झापाबाट २१ असार २०७५ मा दुर्गाप्रसाद प्रसाईँको नाममा जारी भएको हतियारको इजाजतपत्र तथा सोको नवीकरण सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाहीको सिफारिस गर्ने कार्यादेश दिइएको छ ।   



  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार २१:६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया