logo-img

आरजुलाई उत्तराधिकारी बनाउने देउवाकाे दाउ, भन्छन्- महिलालाई अघि बढाए बहुमत ल्याउन सकिन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलाहरूलाई अघि बढाएर बहुमत प्राप्त पार्टी बनाउन सकिने बताएका छन्। उनकाे उक्त भनाइबाट देउवा आफ्नै श्रीमती आरजु राणा देउवालाई उत्तराधिकारी बनाउन इच्छुक छन् भन्ने आकलन गर्न सकिन्छ ।

आइतबार काठमाडौंमा मंगलादेवी सिंह फाउण्डेसनले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्ताे बताएका हुन् । उनले भने, ‘महिलाहरूलाई सशक्तीकरण गर्दै अगाडि ल्याएर नेपालको ठूलो पार्टी मात्र होइन, बहुमतप्राप्त पार्टीका रूपमा स्थापित गर्न सक्छौँ ।’ 

महिलाहरू साँच्चै क्रियाशील हुने हाे भने कांग्रेसले पनि पूरापूर बहुमत नै ल्याउने उनले दाबी गरे । सभापति देउवाले अहिलेको संविधानअनुसार दलले एकल बहुमत ल्याउन सक्ने अवस्था नरहेको बताए। कांग्रेसभित्र आपसी एकता चाहिने उल्लेख गर्दै सभापति देउवाले अहिले कांग्रेस ठूलो पार्टी रहे पनि एकल बहुमत भने नरहेको बताए । 

पार्टीभित्र र बाहिर पनि सभापति देउवा पत्नी डा. आरजुलाई उत्तराधिकार बनाएर विश्राम लिन इच्छुक रहेकाे चर्चा हुने गरेकाे छ । देउवा दुईपटक कांग्रेसकाे सभापति भइसकेका छन् । विधानअनुसार अब उनी सभापतिमा उम्मेदवार बन्न पाउँदैनन् । आफू राजनीतिबाट बाहिरिँदै गर्दा पत्नी डा. आरजु राणालाई स्थापित गर्ने उनकाे चाहना बेलाबेलामा व्यक्त हुने गरेकाे छ । 

देउवापत्नी आरजुले पनि बेलाबेलामा पार्टीकाे पदाधिकारीमा महिलाको संख्या वृद्धि गर्नुपर्ने माग आएकी छिन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उनले पार्टीको महासमिति बैठकमा पनि साे विषय उठाएकी थिइन् । उनले उठाएकाे विषयभन्दा अन्य विषयले चर्चा पाउँदा उनले उठाएकाे विषय छायामा परेकाे थियाे । 

महासमित बैठकअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसकाे उपसभापति, महामन्त्रीमा महिला आरक्षण नरहेको भन्दै असन्तुष्टि जनाएकी थिइन् । 'खाली किन एउटा सहमहामन्त्री मात्रै महिला, उपसभापति, महामन्त्री किन छैन ? अरु पोस्टमा पनि महिला हुनसक्छ नि !'उनले भनेकी थिइन्, 'अहिले विभागहरु बनिरहेको छ, त्यसमा पनि ३३ प्रतिशत महिलाकै नेतृत्व हुनुपर्छ । खाली मेम्बर मात्रै हुने ? हामी भोट मात्रै हाल्ने ? हाम्रो आवाज सुन्नु परेन ?' 



महिलालाई प्रत्यक्षतर्फ ३३ प्रतिशत निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउनैपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताउँदै केन्द्रीय सदस्य देउवाले भनेकी थिइन्, ‘सबै पार्टीका महिलासँग कुरा गरी रणनीति बनाएर ३३ प्रतिशत महिलाको डाइरेक्ट इलेक्सन लड्ने ठाउँ अब बनाउनै पर्छ ।’

आरजुकाे उक्त भनाइले उनी कांग्रेसकाे उपसभापति वा महामन्त्री बनेर देउवाकाे उत्तराधिकारीका रूपमा आउन चाहेकाे बुझ्न सकिन्छ । अन्य प्रभावशाली पुरुष उम्मेदवारहरूसँगकाे प्रतिस्पर्धामा हार खान सकिने सम्भावनाका कारण उनले ती पदहरूमा आरक्षणकाे मुद्दा उठाउने तयारी गरेकी हुन् भनेर आकलन गर्न सकिन्छ । 



  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १६:५०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया