logo-img

नेपाली युवाको सपना, आशा र कल्पना बोकेको ‘रेड सुटकेस’

फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा वैदेशिक रोजगारीले पारेको सामाजिक र मानवीय असरलाई देखाइएको छ । 

ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु विपीन कार्की, सौगात मल्ल, प्रविण खतिवडा र सृष्टि श्रेष्ठ फिचर्ड छन् । फिल्ममा फिडेल देवकोटाको ‘डेब्यु’ निर्देशन छ ।

ट्रेलरमा अभिनेता प्रविणले रातो सुटकेस बोकेर हिँडेको देखाइएको छ । ‘रेड सुटकेसभित्र नेपाली युवाको सपना, आशा र कल्पना छ’, उनले भने, ‘फिल्मले नेपालको आर्थिक, सामाजिक अवस्था देखाउने प्रयास गरेको छ ।’ प्रवीणले फिल्मको कथा केही हदसम्म आफ्नो जीवनमा पनि मिल्ने खुलाए । 

‘मेरा धेरै आफन्तहरु विदेशमा छन् । उनीहरुको निधन हुँदा शवलाई नेपाल ल्याउने जिम्मा मेरै काँधमा आइपुग्छ । शव ल्याउनका लागि नेपालबाट कागजी प्रक्रिया मिलाउने काममा म आफैँ खटिन्छु । शव नेपाल आएपछि यतै दाहसंस्कार गर्नेदेखि शवलाई सम्बन्धित घरतिर पठाउने काम गरिरहेको छु’, उनले भने ।

अर्का अभिनेता सौगात मल्लले नेपालीले हेरिरहेको फिल्मभन्दा ‘द रेड सुटकेस’ फरक रहेको बताए । ‘विदेशमा नेपालीको निधन हुँदा उनीहरुको शव नेपाल ल्याउनु पर्छ । त्यो ल्याउँदाको व्यथादेखि लिएर शवलाई सम्बन्धित ठाउँमा पु¥याउँदासम्मको कथा फिल्ममा छ’, उनले भने ।

निर्देशक फिडेल देवकोटाले कोरोना महामारीको समयमा जर्मनीको कोठामा बसिरहँदा कथा फुरेको खुलाए । ‘द रेड सुटकेस भुईं मान्छेहरुको वर्तमान दस्तावेज हो । हाम्रा नेताहरु विदेशबाट कति रेमिट्यान्स भित्र्याउने भनेर विदेश गएका नेपाली युवाको टाउको गनेर बस्छन् । देशमा रोजगार नभई विदेश गएका ती युवाहरुको बाध्यताले नै फिल्मको कथा जन्माएको हो,’ उनले भने, ‘धेरै पटक विदेश यात्रा गर्दा आफ्नो नामसमेत लेख्न नजान्ने नेपालीहरु भेटें । उनीहरुको कथा सुन्दै जाँदा तीे कथा दृष्यमा उतार्नु पर्छ भन्ने लाग्यो ।’



आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्ममा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् ।



  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १५:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया