logo-img

पञ्जाबविरुद्ध हैदराबादको २ रनको जित, आज राजस्थान र गुजरात भिड्दै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । तेस्रो जित दर्ता गर्नेक्रममा हैदराबादले गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सलाई २ रनले हरायो ।

पञ्जाब भने तेस्रो जित निकाल्न चुक्यो । आफ्नो पाँचौं खेलमा हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो ।

उसका लागि शशांक सिंहले २६ बलमा ६ चौका र एक छक्कासहित अविजित ४६ रन बनाए । यस्तै, आशुतोष शर्माले अविजित ३३, साम करनले २९, सिकन्दर राजाले २८, जितेश शर्माले १९ र कप्तान शिखर धवनले १४ रन जोडे । हैदराबादका लागि भुवनेश्वर कुमारले दुई, प्याट कमिन्स, टी नटराजन, नितिशकुमार रेड्डी र जयदेव उनादकटले एक/एक विकेट लिए ।  

त्यसअघि चण्डीगढमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । उसका लागि नितिशकुमार रेड्डीले ३७ बलमा चार चौका र पाँच छक्कासहित सर्वाधिक ६४ रन बनाए । यस्तै, अब्दुल समदले २५, ट्रभिस हेडले २१, अभिषेक शर्माले १६, शाहबाज अहमदले अविजित १४ र राहुल त्रिपाठीले ११ रनको योगदान दिए ।

पञ्जाबका लागि अर्शदीप सिंहले चार, साम करन र हर्षल पटेलले दुई/दुई तथा कागिसो रबाडाले एक विकेट लिए । यो जितपछि हैदराबाद अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसले पाँच खेल खेल्दा तीनमा जित र दुई खेलमा हारको सामना गरेको छ ।  

छैटौँ स्थानमा रहेको पञ्जाबले पाँच खेल खेल्दा तीनमा हार तथा दुई खेलमा जित निकालेको छ । आइपिएलमा आज राजस्थान रोयल्स र गुजरात टाईटन्स प्रतिस्पर्धा गर्नेछन् ।    



चार खेल खेल्दा जारी सिजनमा राजस्थान अपराजित छ । ऊ अहिले ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । गुजरातले भने पाँच खेल खेल्दा तीनमा हार र दुई खेलमा मात्र जित निकालेको छ ।  



  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार ७:१२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया