२८ वर्षदेखि भन्सालीको फोन पर्खेकी मनीषा कोइराला

बलिउड निर्देशक सञ्जय लीला भन्सालीको प्रतीक्षित सिरिज ‘हीरामन्डी: द डायमण्ड बाजार’को ट्रेलर रिलिज भइसकेको छ । शाही महलदेखि सुरु भएर क्रान्तिसम्मको कथा बोल्ने ‘हीरामण्डीः द डायमण्ड बाजार’मा अभिनेत्री मनीषा कोइरालाको अभिनय पनि उत्कृष्ट छ ।

९० दशककी लोकप्रिय अभिनेत्रीमध्ये एक मनीषाले निर्देशक भन्सालीसँग २८ वर्षपछि पुनः सहकार्य गरेकी हुन् । उनले सन् १९९६ मा रिलिज भन्सालीको म्यूजिकल फिल्म ‘खामोशी द म्यूजिकल’मा अभिनय गरेकी थिइन् । यो फिल्म भन्सालीको डेब्यू फिल्म थियो । फिल्म फ्लप भयो तर भन्सालीको कामको सबैले सराहना गरेका थिए ।

‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिजमा मनीषाले झण्डै तीन दशकपछि दिग्गज निर्देशकसँग काम गर्न पाउँदाको खुशी साटिन् । ‘मैले २८ वर्षसम्म सञ्जयको फोन पर्खिएँ र यो नै खुशीको कुरा हो । यस्ता प्रतिभावानसँग काम गर्न पाउनु सम्मानको कुरा हो । निकै धेरै मिहिनेत, प्रेम र मायाले हामीले ‘हीरामन्डी’ बनाएका छौं । आशा गर्छौ कि तपाईं सबैलाई यो मनपर्छ । हामीले पहिलोपटक यसलाई हेरेका छौं’, मनीषाले भनेकी छन् ।

भन्साली र नेटफ्लिक्सले ‘हीरामण्डी’को ट्रेलर सार्वजनिक गरेका छन् । प्रेम, त्याग र स्वतन्त्रताको द्वन्द्व देखाउने ‘हीरामण्डी’मा सबै कलाकार देखिएका छन् । सिरिजमा मनीषाका अलावा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, सन्जीदा शेख, ऋचा चढ्ढा, शर्मिन सहगल, शेखर सुमन, ताहा शाह र अध्ययन सुमन प्रमुख भूमिकामा छन् । सिरिज मे १ मा नेटफ्लिक्समा रिलिज हुनेछ ।





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार ८:०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया