मच्छिन्द्रलाई हराउँदै पुलिसले जित्यो जीतपुरसिमरा गोल्डकपको उपाधि

नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ । सोमबार राति सिमरा रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलोपटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा पुलिसले जित निकालेको हो । प्रशिक्षक चेतन घिमिरेले टाइब्रेकरलाई लक्षित गरी अतिरिक्त समयको अन्तिममा मैदान पठाएका गोलरक्षक अमित टमाटा पुलिसको जितमा नायक बने । अमितले मच्छिन्द्रका दुई प्रहार रोकेपछि पुलिस उपाधि उचाल्न सफल भयो ।

मच्छिन्द्रका लागि विशाल तामाङ, सनिश श्रेष्ठ र दिवाकर चौधरीले गोल गर्दा सौरभ लिम्बु र चन्दन दासको प्रहार पुलिसका गोलरक्षकले गोलमा परिणत हुन दिएनन् । पुलिसका लागि कप्तान रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरे ।

यसअघि भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले निकै आकर्षक अवसरहरू सिर्जना गरे पनि गोल गर्न भने सकेनन् । मच्छिन्द्र निर्धारित समयको अन्त्यतिर ९ खेलाडीमा सीमित बनेको थियो । उत्सव राई ८४ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए भने खेलको ८८ औं मिनेटमा मनिष डाँगी दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए । ९ खेलाडीमा सीमित भएपनि मच्छिन्द्रले अतिरिक्त समयको खेलमा पुलिसलाई दबाबमा राखेको थियो ।

पुलिसका गोलरक्षक अमित टमाटा फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले शुभारम्भ कलेज अफ म्यानेजमेन्टले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफी प्राप्त गरे । पुलिसकै सञ्जित श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । उनले २५ हजार नगदसहित ट्रफी प्राप्त गरे । 



पुलिसका उज्वल राई र वीरगञ्ज युनाईटेड क्लबका फागुराम चौधरी समान २ गोलका साथ प्रतियोगिताको उच्च गोलकर्ता बने । उनीहरूले २५ हजार नगदसहित ट्रफी प्राप्त गरे ।

आयोजक नवजनजागृति युवा क्लब सिमराका प्रज्ज्वल थापामगरले इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्टको ट्रफीसहित १५ हजार प्राप्त गरे । प्रतियोगिताको फेयर प्लेको ट्रफी आयोजक टिमले नै प्राप्त गर्‍यो । 



मच्छिन्द्रका विमल घर्तीमगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले टिभिएस स्कुटर प्राप्त गरे ।

जीतपुरसिमरा गोल्डकपको हालसम्मका विजेता टोली : 

२०८० – नेपाल पुलिस क्लब

२०७९– चर्च ब्वाइज युनाइटेड

२०७८ – न्युरोड टिम एनआरटी

२०७७ – संकटा क्लब

२०७५ – थ्रीस्टार क्लब

२०७४ – त्रिभुवन आर्मी

२०७३ – संकटा क्लब

२०७२ – विजय युथ क्लब हेटौंडा

२०७१ – त्रिभुवन आर्मी क्लब

२०७० – नव जनजागृति युवा क्लब सिमरा

२०६९ – मनाङ मर्स्याङ्दी क्लब

२०६८ – मनाङ मर्स्याङ्दी क्लब

२०६७ – हिमालयन शेर्पा क्लब

२०६६ – मजदुर सहिद स्मृति क्लब 

  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार ८:४५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया