logo-img

कोलकाताविरुद्ध राजस्थानको ऐतिहासिक जित, जोस बटलरको शतकीय इनिङ

भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले छैटौँ जित निकालेको छ । छैटौँ जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा राजस्थानले घरेलु टिम कोलकाता नाइट राइडर्सलाई २ विकेटले हरायो ।

आफ्नो सातौं खेलमा कोलकाताले दिएको २ सय २४ रनको लक्ष्य राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । योसँगै राजस्थान आइपिएल इतिहासमा ठूलो लक्ष्य पूरा गर्ने टिम बन्यो ।

यसअघि उसले नै सन् २०२० पञ्जाब किंग्सले दिएको २ सय २४ रनको लक्ष्य पूरा गरेको थियो । यसपटक कोलकाताविरुद्ध ओपनिङ ब्याटर जोस बटलरले शतकीय पारी खेले ।

६० बलको सामना गरेका उनले ९ चौका र ६ छक्काको सहयोगमा अविजित १ सय ७ रनको पारी खेलेका हुन् । आइपिएलमा बटलरको यो सातौं शतक हो । यस्तै, रियान परागले ३४, रोभम्यान पावेलले २६, यशस्वी जैसवालले १९ र कप्तान सञ्जु सामसनले १२ रनको योगदान दिए । 



कोलकाताका लागि वरुण चक्रवर्ती, सुनिल नारायण र हर्षित रानाले दुई/दुई तथा वैभव अरोराले एक विकेट लिए । त्यसअघि इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २३ रन बनायो ।



उसका लागि सुनिल नारायणले शतकीय पारी खेले । ५६ बलको सामना गरेका उनले १३ चौका र ६ छक्कासहित १ सय ९ रनको पारी खेलेका हुन् । क्रिकेट करियरमा नारायणको यो पहिलो शतक हो । 

यस्तै, अङ्कृष्ण रघुवंशीले ३०, रिंकु सिंहले अविजित २०, आन्द्रे रसेलले १३, कप्तान श्रेयस अय्यरले ११ र फिल साल्टले १० रन जोडे । राजस्थानका लागि आवेश खान र कुलदीप यादवले दुई/दुई तथा ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले एक/एक विकेट लिए ।

 यो जितपछि शीर्ष स्थानमा रहेको राजस्थानले ७ खेलबाट १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको कोलकाताको ६ खेलबाट ८ अंक छ ।  उसले ६ खेल खेल्दा चारमा जित र दुई खेलमा पराजय बेहोरेको छ । आइपिएलमा आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स खेल्नेछन् । 

  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार ७:२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया