logo-img

चलचित्र ‘होस्टेल-३’ को घोषणा

फिल्म ‘होस्टेल’ को तेस्रो भाग ‘होस्टेल–३’ को घोषणा गरिएको छ । म्युजिक भिडियो निर्देशनमा स्थापित सशान कँडेलले निर्देशन गर्ने ‘होस्टेल–३’ को कथा उनकै हो भने पटकथा माधव शर्माले लेखेका छन् ।

यसअघिका दुई फिल्म ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’को निर्माण सुनील रावलले गरेका थिए । निर्माता रावल यतिबेला अमेरिकामा छन् । निर्माता रावलले ‘होस्टेल ३’मा आफू पनि महत्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई फिल्म बनाउन अनुमति दिएका छन् । 

निर्माता रावलले २०७६ सालमा आफ्नै निर्देशनमा फिल्म ‘होस्टेल ब्याक अगेन’ बनाउने तयारी गरे पनि हालसम्म उक्त फिल्म बन्न सकेको छैन । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा ’होस्टेल ३’ बनाउनेछ । फिल्ममा शिशिर ज्ञवाली निर्माता, शंकर कोइराला कार्यकारी निर्माता र सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह–निर्माता हुनेछन् ।

वि.सं. २०७० सालमा रिलिज भएको फिल्ममा ‘होस्टेल’मा हेमराज बिसी र २०७२ मा रिलिज ‘होस्टेल रिटन्स’ सुरज भुसालले निर्देशन गरेका थिए । ‘टीनएज ड्रामा’मा आधारित यी दुवै फिल्म बक्सअफिसमा हिट भएका थिए । ‘होस्टेल-३’ का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनामा आधारित रहने बताए । 

‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी र ‘होस्टेल रिटन्र्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नाजिर हुसेन, सुशील सिटौलालगायतका कलाकारले अभिनेता तथा अभिनेत्रीका रूपमा ‘डेब्यू’ गरेका थिए ।

निर्देशक कँडेलले निर्देशन गरेको पुष्पन प्रधानको ‘बाबुको जुङो’, राजेश राईको ‘तोडियो तोडियो’, प्रमोद खरेलको ‘अन्त माया’, ‘आफू दुःखी बनेर’ गीतको भिडियो चर्चित छन् । कँडेलकै स्वर रहेको ‘एक दिन त जाने हो संसार छोडेर’ रुचाइएको गीतमा पर्छ ।



‘होस्टेल ३’मा ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’को प्रोडक्सन सम्हालेका यमप्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नेछन् । यसै वर्षको अन्त्यमा रिलिज गर्ने तयारी रहेको फिल्मको कलाकार र प्राविधिक चाँडै फाइनल गरिने निर्देशक कँडेलले बताए ।



  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार १०:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया