सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै सर्वाधिक सफल टिम मड्रिड सेमिफाइनलमा प्रवेश गरेको हो ।

यो पराजयपछि सिटीको एउटै सिजन तीनवटा उपाधि जित्ने लक्ष्य अपूरो रह्यो । पहिलो लेगमा ३–३ को बराबरी खेलेका युरोपेली फुटबलका दुई महारथी दोस्रो खेलमा १–१ गोलको बराबरीमा रोकिएपछि सेमिफाइनल पुग्ने टोलीको निर्णय पेनाल्टी सुट आउटबाट भयो । पेनाल्टीमा बर्नाडो सिल्भा र माटेओ कोभासिचले गोल गर्न नसक्दा सिटीको यात्रा रोकियो ।

त्यसअघि १२औं मिनेटमै रोड्रिगोले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए । भिनिसियस जुनियरले डिबक्सभित्रबाट दिएको पासलाई रोड्रिगोले दोस्रो प्रयासमा गोल गरे । ७६औं मिनेटमा केभिन डि ब्रुयनाले बराबरी गरेका थिए ।  

८१औं मिनेटमा केभिन डि ब्रुयनाले पेनाल्टी एरियाबाट गरेको प्रहार आकासिँदा सिटीले अग्रता लिने राम्रो मौका गुमायो । त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल पेनाल्टीमा गएको हो । हालसम्म मड्रिडले सर्वाधिक १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । सिटीले गत सिजन पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।  

मड्रिडले सेमिफाइनलमा जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिकको सामना गर्नेछ । जोसुवा किम्मिचको दोस्रो हाफको गोल निर्णायक बन्दा बायर्नले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

पहिलो लेगमा २–२ गोलको बराबरी भएको दुई टोलीबीच म्युनिखमा भएको दोस्रो लेगमा किम्मिच नायक बने । 





  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार ६:५३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया