नेविसंघमा तदर्थवाद : दास मात्रै उत्पादन, संगठन बर्बाद

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५५औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइयो  । निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध लड्नका लागि नेपाली कांग्रेसले विद्यार्थी वर्गलाई संगठित रुपमा अगाडि बढाउनका लागि नेविसंघको स्थापना विसं २०२७ वैशाख ६ गते जेलभित्र भएको थियो । 

पञ्चायती शासनमा पिल्सिएका नेपाली र त्यसमा पनि जागरूक विद्यार्थीले प्रवासमा रहेर ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको चित्र कोर्ने प्रयास भए पनि आधिकारिक रुपमा भने विसं २०२७ मा स्थापना भएको थियो ।

नेविसंघले देशमा भएका विभिन्न राजनीतिक एवम् शैक्षिक परिवर्तनको नेतृत्व लिदैँ २०४६ र २०६२ र ०६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निभाएको थियो । नेविसंघको मूल आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता हो ।

नेविसंघ हाल क्रियाशील रहेका विद्यार्थी संगठनमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो । तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएको बेलामा कांग्रेसले आफ्नो बहुदलीय ‘एजेन्डा’लाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीलाई शैक्षिक एजेन्डामा टेकेर विद्रोह गर्न नेविसंघ स्थापना भएको थियो ।

नेविसंघको संस्थापक अध्यक्ष विपिन कोइराला हुन् । त्यसपछि शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जित कर्ण, नैनसिंह महर, राजीव ढुंगाना र दुजाङ शेर्पा अध्यक्ष बने । 

नेविसंघको ५५ वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन नेविसंघका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए भने अरू अध्यक्षले समयमा अधिवेशन गर्न नसकेको इतिहास छ ।
      
यस्तै, विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरे । 



विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरले भने निर्वाचनबाट जितेर अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सकेनन् । राजीव ढुंगाना भने तदर्थ समितिको अध्यक्ष भए पनि निर्वाचन गर्न सकेनन् । 

५५ वर्ष इतिहास बोकेको नेविसंघ पछिल्लो समय विगत पाँच वर्षदेखि तदर्थ कार्यसमितिको भरमा चलिरहेको छ । ११औँ महाधिवेशनबाट नेतृत्वमा पुगेका नैनसिंह महरलाई हटाएर विसं २०७६ माघ १६ गते राजीव ढुंगानालाई तदर्थ समितिको अध्यक्ष बनाएसँगै हालसम्म पनि नेविसंघ तदर्थ कार्यसमितिको भरमै चलिरहेको छ । 



राजीव ढुंगानापछि विसं २०७८ चैत ९ गते दुजाङ शेर्पा नेविसंघ तदर्थ कार्यसमितिको अध्यक्ष बने । तर, उनले पनि दुई वर्ष बितिसक्दा पनि नेविसंघको महाधिवेशन गर्न सकेका छैनन् । 
      
नेविसंघले आफ्नो ५५औँ स्थापना दिवसका अवसरमा आज  देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेविसंघ पशुपति बहुमुखी क्याम्पस इकाइ समितिले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । यस्तै, नेविसंघ अस्कल क्याम्पस इकाइ समितिले स्थापना दिवसका अवसरमा भित्तेपात्रो विमोचन गरेको छ । 
      
यस्तै, नेविसंघले आज  स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन, अध्ययन, अनुसन्धान गर्नुपर्ने, शिक्षामा बजेट बढाउनुपर्नेलगायते माग राखी देशभरका सबै स्थानीय निकायमा ज्ञापनपत्र बुझाएको बताए । 

नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण पछिल्लो समय विद्यार्थी आन्दोलनप्रति नै प्रश्नचिह्न खडा भएको बताउँछन् । ‘विद्यार्थी संगठनको गरिमा दिनप्रतिदिन घट्दै गएको छ, किन यस्तो अवस्था आयो यसमा नेविसंघ गम्भीर ढंगले अगाडि बढ्न जरुरी छ, वर्तमान समस्याको समाधान गर्ने नेविसंघले हो,’ उनी भन्छन् । 

पूर्वअध्यक्ष कर्ण लामो समयदेखि नेविसंघ तदर्थ कार्यसमितिको भरमा चल्दा नेविसंघ कमजोर हुँदै गएको बताउँछन् । निर्वाचनबाट आएको नेतृत्वलाई काम गर्न हुटहुटी हुने भएकाले अविलम्ब चाँडो नेविसंघको निर्वाचन हुनुपर्ने उनको भनाइ छ ।

नेविसंघको इतिहास आन्दोलन र क्रान्तिको पृष्ठभूमिमा रही सहिदको बलिदान र नव मार्गदर्शनको सच्चा क्रान्तिकारी एवम् सचेत विद्यार्थीको नवीन मार्गका रूपमा जेलभित्र कलम र मशाल अंकित झन्डा निर्माण गरी स्वयम्भूको सत्तलमा स्थापना भएको इतिहास छ ।

नेविसंघका पूर्वकेन्द्रीय सदस्य लिलाबल्लभ दाहाल ‘काका’ नेविसंघले शैक्षिक एजेन्डाभन्दा राजनीतिक एजेन्डा बढी उठाउन थालेको बताउँछन् । ‘विश्वविद्यालयभित्र अहिले पनि अस्तव्यस्त छ, विश्वविद्यालभित्र देखिएको अस्तव्यस्त हटाउन नेविसंघ जुन हिसाबले अगाडि बढ्नुपर्ने थियो, बढ्न सकेको देखिँदैन,’ उनी भन्छन् । 

नेविसंघ निरंकुश, अधिनायकवादी र सामन्तीहरुको विरुद्धमा अनवरत संघर्ष रही मानव अधिकार, लोकतन्त्र, सामाजिक सद्भाव, स्वतन्त्र न्याय, विधिको शासन, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्रलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, आर्थिक, शैक्षिक एवम् समुन्नत राष्ट्र निर्माणको अग्रगामी भूमिका निर्वाह गर्ने प्रतिबद्धताअनुसार जन्मिएको संस्था हो ।

हरेक आन्दोलनको अग्र मोर्चामा रहेर लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै निरंकुश, तानाशाही व्यवस्थाको विरुद्ध नेविसंघका विद्यार्थी योद्धाले ज्यानको बलिदान दिएको इतिहास छ ।

नेविसंघको मातृसंस्था कांग्रेसले विद्यार्थी संगठनलाई तदर्थवादमा चलाएर दास उत्पादन गर्ने कारखानाको रुपमा विकास गर्दै गएको छ । त्यसैको फलस्वरुप पछिल्लो समय नेविसंघलाई ७५२ सदस्यीय बनाइएको छ । यति धेरै संख्याको केन्द्रीय समितिले काम त के अहिलेसम्म पूर्ण बैठक पनि बसाउन सकेको छैन । 

  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार २३:९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया