logo-img

होमस्टेले फेरियो डेढगाउँको दराई वस्ती

दराई समुदायले होमस्टे सञ्चालन गरेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को डढगाउँको परिचय फेरिएको छ । दराई समुदायको बसोबास रहेको बौदीकाली गाउँपालिका– डेढगाउँमा २०७५ सालदेखि होमस्टे सञ्चालन गरिएपछि गाउँको परिचय बदलिएको हो  ।

जीविकोपार्जनका लागि खेतीपातीमा मात्र निर्भर दराई समुदायले होमस्टे सञ्चालन गरेर आम्दानी लिन थालेका छन् । पाँच घरबाट होमस्टेको सेवा सुरु गरिएको गाउँमा अहिले १० घरले होमस्टे चलाउन पाहुना घर बनाएका छन् । होमस्टेमा अहिले २० जना पाहुनालाई एकैसाथ राख्न सक्ने क्षमता रहेको छ । यस गाउँमा ३५ घरधुरी दराई जातिको बसोवास छ ।

कालीगण्डकी नदी किनारमा रहेको दराई वस्तीमा सञ्चालित होमस्टेले दराई जातिको कला संस्कृति प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सामुदायिक होमस्टेका अध्यक्ष कमल दराईले बताए । 



‘होमस्टे सञ्चालनमा आएपछि अहिले गाउँ पनि सफा र सुन्दर भएको छ, पाहुनालाई स्थानीय परिकार खुवाएर होमस्टेमा राख्छौँ’, उनले भने, ‘नयाँ नयाँ ठाउँका मानिसको आउजाउ हुन थालेपछि गाउँमा धेरै चिज परिवर्तन भएको छ ।’  

होमस्टेमा दराई जातिको खानाका परिकारका साथै स्थानीय उत्पादनबाट पाहुनाको रुचि अनुसारका खानेकुरा तयार गरिन्छ । होमस्टेले  दराई समुदायका महिलालाई आत्मनिर्भर हुन सिकाएको अध्यक्ष कमल दराईले बताए । 

जिल्लाकै अमलटारी होमस्टे राष्ट्रिय रुपमा स्थापित भएपछि  पहाडी भेगमा सञ्चालन भएको यो दराई होमस्टेले छुट्टै पहिचान बनाएको छ । पछिल्ला वर्षमा दराई सामुदायिक होमस्टेमा पहुनाको आकर्षण बढ्दै गएको व्यवस्थापक सिद्र्धिपूर्णी दराईले जानकारी दिए । 



होमस्टेमा आउने पाहुनालाई दराई संस्कार अनुसार फूलको गुच्छा, कलशमा पानी, दियो बालेर स्वागत गर्ने गरिन्छ । साँझमा दराई जातिको कौरा, झ्याउरे लगायतका नृत्य प्रस्तुत गरेर पहुनालाई मनोरञ्जन दिने गरिएको छ । 

दराई वस्ती आसपासमा रहेका ऐतिहासिक धार्मिकस्थल, प्रसिद्ध अकला मन्दिर, बालीघाट, हरियाली डाँडा, कालीगण्डकी नदी लगायतका रमणीयस्थलको अवलोकन गर्न सकिन्छ । होमस्टेमा अहिले दैनिक १० जना पाहुना बास बस्ने गरी आउने गरेको होमस्टे सञ्चालक समितिले जनाएको छ । 



दराई समुदायको मुख्य बसोबास नवलपरासी (बर्दघाट सुस्तपूर्व) सँगै तनहुँ, चितवन र गोरखा जिल्लामा छ । वि.सं २०७८ को जनगणना अनुसार नेपालमा दराई समुदायको जनसंख्या १८ हजार ६ सय ९५ मात्र रहेको छ । रासस 

  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १४:४७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया