logo-img

लोकतन्त्र प्राप्तिको १८ वर्ष, जनतामा निराशा कायमै

नेपालमा लोकतन्त्र स्थापना भएको १८ औँ वर्ष पूरा भएको छ । लोकतन्त्र स्थापनाको दिनलाई आधार मानेर हरेक वर्ष लोकतन्त्र दिवस मनाउने गरिएको छ । मंगलबार १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागितामा २०६२’६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । 



तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसदको ४ जेठको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । 

८ जेठ २०५९ मा विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्र बमोजिम ११ वैशाख २०६३ मा पुनःस्थापना भएपछि वि.सं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

०६२/०६३ को जनआन्दोलनले बनाएको मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले ११ वैशाखको राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए । त्यही घोषणालाई आधार मान्दै लोकतन्त्र दिवस मनाउन थालिएको हो । त्यसैको जगमा संविधानसभाको गठन भई नयाँ संविधान जारी भएर मुलुक यहाँसम्म अघि बढेको हो । 



लोकतन्त्र स्थापनाको १८ वर्षसम्म पनि जनताका अपेक्षा भने पूरा हुन सकेका छैनन् । जहानियाँ शासनबाट मुक्ति मिले पनि जनतामा निराशा निरन्तर कायम छ । सरकार गठन र विघटनका श्रृंखला तथा भ्रष्टाचारका काण्डले जनतामा शासन व्यवस्थाप्रति असन्तुष्टि चुलिएको छ । 



सुरुवातमा लोकतन्त्र दिवसमा सरकारले सार्वजनिक विदा नै दिने गरेको थियो भने विशेष उत्सवका रूपमा मनाउने गरिएको थियो । तर, पछि गणतन्त्र दिवसलाई विशेषरूपमा मनाउने अभ्यास सुरु भएपछि लोकतन्त्र दिवस ओझेलमा पर्‍यो । यो वर्ष भने कतारी अमिरको नेपाल भ्रमणका कारण सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार ९:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया