logo-img

भारतीय पक्षबाट नेपाली चियामा अवरोध, समाधानका लागि पहल गर्न माग

भारतीय पक्षले नेपालमा उत्पादित चियाको निर्यातमा अवरोध गरेपछि नेपाली व्यवसायी मारमा परेका छन् । पूर्वी नेपालका चिया उद्योगीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समस्या समाधानका लागि पहल गर्न माग गरेका छन् ।

भारतीय व्यवसायीले अनिवार्य परीक्षणको बहानामा नेपाली चियामाथि पुनः अवरोध सिर्जना गरेपछि नेपाली उद्योगी व्यवसायी मारमा परेको उनीहरूको भनाइ छ । भारतीय व्यवसायीले नेपाली चिया निर्यात रोक्न दबाब दिएपछि समस्या आएको हो ।

भारतीय चिया परीक्षणबिना तेस्रो देश निर्यात हुँदैन अनि बिना परीक्षण नेपाली चियालाई किन निर्वाध प्रवेश दिएको भनेर विरोध गरेपछि भारतीय प्रशासनले नेपाली चियामा अवरोध गरेको व्यवसायीको भनाइ छ ।

मंगलबार बिहान पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा इलामका चिया व्यवसायीहरूको टोलीले प्रधानमन्त्रीलाई भेटेको छ । इलाम फिक्कलका चिया व्यवसायी गोपाल कट्टेलले भने, ‘नेपाल–भारत वाणिज्य सन्धिमा एकअर्का देशका क्वारेन्टिन प्रमाणपत्रलाई दुवै देशमा मान्यता दिने भनेर निर्यात हुँदै आएको नेपाली चियामाथि एक्कासि अवरोध गर्दा मारमा परेका छौं । यसमा नेपाल सरकार र मातहतका निकायले तुरुन्त पहल गर्नुपर्छ ।’

भारतका व्यवसायीले चियालाई खाद्य प्रयोगशालाहरूमा परीक्षण गरिने वस्तुका रूपमा समावेश गर्न माग गर्दै आएका छन् । त्यस्तै, ३ नोभेम्बर सन् २०२१ मा टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयमा पत्राचारै गरेको थियो । तत्कालीन राज्यसभा सदस्य शान्ता क्षेत्रीले पश्चिम बंगाल विधानसभामै नेपाली चिया आयातमा रोक लगाउन माग गरेकी थिइन् ।

गुणस्तरीय नेपाली चियाका कारण दार्जिलिङ चियाको ब्रान्ड खतरामा पर्ने भएपछि व्यवसायीकै पहलमा नेपाली चियामा अवरोध खडा गर्दै आएका छन् । केही भारतीय व्यापारीले नै कम मूल्यमा आयात गरिएको नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर तेस्रो देश निर्यात गर्ने गरेको पाइन्छ ।



गत वर्ष पनि भारतीय अवरोधविरुद्ध नेपाली व्यवसायीले काठमाडौंमा आएर अवरोध हटाउन माग गरेका थिए । हाल पनि झापाको काँकडभिट्टा नाकामा नेपाली चिया बोकेका दर्जनौं गाडी रोकिएका छन् । 



  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार ११:४६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया